Friday, June 17, 2016

अध्यक्ष को बन्ने झगडाले एमाले कर्मचारीमा ओली-नेपाल समूहबीच कुटाकुट

हालसालै भएको आधिकारिक ट्रेड युनियनको चुनावबाट सबैभन्दा बढी मत ल्याएको एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकमा कुटाकुट भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पक्षधर र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचमा पदाधिकारी छनोटमा भएको विवादले उग्ररुप लिँदा हात हालाहाल र कुटाकुट भएको हो।
अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी छनोटका निम्ति शुक्रबार बैठक बसेको थियो। बैठकमा अध्यक्ष को हुने विवादले तनाव सिर्जना गरेको स्रोतले बतायो।kutpit
एमालेको कर्मचारी संगठनबाट अध्यक्षमा दुई जनाले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। पुण्य ढकाल र भोला पोखरेलले अध्यक्षमा आफ्नो दाबी गरिरहेका छन्।

ढकाल ओली समूहका हुन् भने पोखरेल नेपाल। ढकालले आफ्नो नेतृत्वमा चुनाव हुँदा देशैभरि बढी जितेकाले आफू नै अध्यक्ष हुनुपर्ने दाबी गरिरहेका छन्। संगठन अध्यक्ष ढकालले छलफल चल्दै गर्दा संगठनकै अराजक व्यक्तिहरूले विवाद सिर्जना गरेको बताए।
‘सामान्य विवाद भएको हो, केही अराजक व्यक्तिले यो गराए,’ उनले भने। पदाधिकारी छान्न बसेको बैठकमा हात हालाहाल भएपछि बैठक स्थगित गरिएको छ। एमालेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ जना केन्द्रीय सदस्य पाउने छ।
उता दोस्रो ठूलो संगठन नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघले भने एक साताअघि नै पदाधिकारी छानिसकेको छ। उसले आफ्नो भागमा परेको महासचिव पदमा संघका उपाध्यक्ष सुवोध देवकोटालाई सिफारिस गरेको छ।
त्यसैगरी सदस्यमा, विश्वबन्धु रेग्मी, शंकर पुरी, सुवास कोइराला, सुशील केसी, जनकबहादुर रावल र राजु उप्रेतीलाई सिफारिस गरिएको अध्यक्ष देवकोटाले बताए।



Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog