धुर्मुस-सुन्तलीलाई सांसद रबिन्द्र अधिकारीले एक महिनाको तलब दिने
काठमाडौं, २ असार । युवा सभासद एवं व्यवस्थापिका संसदको विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् ।
सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पीडित जनताको मुहारमा खुशि ल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाई छ ।
राम्रो कामको कदर स्वरुप आफुले पाउने एक महिनाको पारीश्रमीक (करीब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले चुप लागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् ।
सभासद् अधिकारीले कुरा भन्दा काम गरेर देखाउन कटिबद्ध हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममा लागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् ।
धुर्मुस सुन्तलीले गरिरहेको कामले पुनर्निर्माणको कामलाई पनि गति लिन बाध्य गराउने उनको भनाई छ ।
dainiknepal