Monday, June 6, 2016

ओलीलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर हुँदैनः देउवा

भक्तपुर, २४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताउनुभएको हो ।ho
सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन सजिलो छैन । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ । संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ, तब मात्र संविधानको सफल कार्यान्वयन हुन्छ ।”
“ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुँदैन,” देउवाले भन्नुभयो ।
ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको काँधका आएको बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा सरकारले चासो दिएन । संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस तयार छ ।”
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम हास्यास्पद भएको टिप्पणी गर्दै बजेट आत्मघाती भएको बताउनुभयो ।
काँग्रेसका अर्का केन्द्रीय सदस्य डा प्रकाशशरण महतले भन्नुभयो, “कुरा मात्रै गर्ने काम नगर्ने सपना बाँडेर बस्ने लल्लु सरकार भएकाले अहिले देश विकास नभएको हो ।”
त्यस अवसरमा सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा लगायतले काँग्रेसले अब सरकारको नेतृत्वको भूमिका लिन अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मेधा मावि कक्षा १० की अनु नायबालाई रु १० हजार, मेधाकै कक्षा ८ का कृष्ण ध्वजूलाई रु नौ हजार, बागेश्वरी उमावि कक्षा ६ की सृजना ङाखुसी, देउजा गाउँ निमावि कक्षा ५ का रुपेश दुलाललाई जनही नगद रु पाँच हजारको छात्रवृत्ति पनिे उहाँले प्रदान गर्नुभएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सहिद, प्रजातन्त्र र शिक्षा’ शीर्षकको वक्तृत्वकलामा प्रथम हुने नर्थ इस्ट इङ्लिस स्कुलकी नितिशा आचार्य, दोस्रो हुने मोर्डन उमाविकी सोनिसा राउत, तृतीय हुने विनायक शिक्षा निकेतनकी अशोक नेपाल र सान्त्वना पुरस्कार पाउने मनकामना इङलिस स्कुलकी अनुजा खड्कालाई क्रमशः रु सात हजार, पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कारत्र प्रदान गरिएको थियो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog