किन बढ्दैछन् अपराधका घटना ?
काठमाडौं, २३ जेठ । केही साताअघि वीरगन्जको भेडियाहीस्थित मसानघाटनजिकैको सिगहा नदीमा चोपलेर सविता देवीले दुई छोरीको हत्या गरिन् । सविताले परिवारको मानसिक यातना सहन नसकेर यस्तो अपराध गर्न पुगिन् ।
तराईका केही जिल्लामा छोरी जन्मिएपछि ‘अभिशाप’का रूपमा लिइन्छ अझै पनि । दाइजो प्रथा उन्मूलन भइसक्दा पनि ‘तिलकु माग्न छाडेका छैनन् केटा पक्षले ।
त्यस्तै, गत वैशाख १४ गते बागलुङको बोहोरागाउँमा दुई बालबालिका जलेको अवस्थामा मृत फेला परे । अनुसन्धान गर्दै जाँदा दुई बच्चाको आमासँग अनैतिक सम्बन्ध राख्दै आएका गाउँकै देवर पर्ने भीमबहादुर भण्डारीले घाँटी थिचेर मारी गोठमा आगो लगाइदिएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
सन्तबहादुर घर्तीकी पत्नी कमलासँग अनैतिक सम्बन्ध राख्दै आएका भण्डारीले आफ्नो गोपनीयता भंग हुने र कमलाले बच्चा छाडेर विवाह गर्न नमानेपछि दुई बच्चालाई घरमा कोही नभएको मौका छोपेर घाँटी थिची हत्या गरेका थिए ।
गएको वैशाखमै बाबुले १७ वर्षीया छोरीमाथि पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भयो । ललितपुरको यो घटनामा यौनपिपासु बाबुको डेढ वर्षदेखि सिकार हुँदै आएकी तामाङ थरकी ती किशोरीले प्रहरीसमक्ष उजुरी दिने हिम्मत गरिन् ।
गत चैतमा रसुवाको यार्सा गाविसमा बोक्सो आरोप लगाउँदै ५५ वर्षीय वृद्ध तुलु थिङलाई जिउँदै गाडेर मारियो । गाउँका एक व्यक्ति मरेपछि तुलुले भेदेर मरेको भन्दै उनीमाथि गाउँलेबाट आक्रमण भएको थियो ।
अन्धविश्वासले जरा गाडेको यार्सा गाविसमा तुलु अनाहकमा मारिनु ज्यादै दर्दनाक घटना थियो । यी घटना समाजका प्रतिनिधि घटनामात्रै हुन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार २०७२ मा मात्रै मुलुकभर प्रहरीमा एक हजार ३८ वटा बलात्कारका घटना दर्ता भएका थिए ।
त्यसैगरी चार सय ९७ वटा बलात्कार प्रयास र २४ वटा बोक्सीको आरोप लगाइएका घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए । २०७१ मा नौ सय १० वटामात्रै बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए ।
बलात्कार प्रयासका तीन सय ५० वटा र बोक्सी आरोपमा १९ वटा घटना प्रहरीमा दर्ता भएका थिए । २०७० मा बलात्कारका ६ सय ७६ वटा, बलात्कार प्रयासका तीन सय नौवटा र बोक्सीका १७ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।
विभागका अनुसार २०६९ मा पाँच सय ५७ वटा बलात्कारका, बलात्कार प्रयासका दुई सय ४४ वटा र बोक्सी आरोपका २३ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।
समाजशास्त्री डा उद्धव प्याकुरेल यी घटनालाई दुई पक्षबाट केलाएर विश्लेषण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अझै पनि केही समाजमा छोरी प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन, पुरातनवादी सोच हाबी छ। सरकार र स्थानीय प्रशासनले समाजलाई चेतनशील बनाउन जुन भूमिका खेल्नुपर्ने हो त्यो सकेका छैनन्। घटनाहरू पहिले पनि नभएका होइनन्, पहिला लुक्थ्यो तर अहिले सामाजिक जागरणले पनि बाहिर आएका छन्, त्यसलाई सकारात्मक रूपमा पनि लिनुपर्छ।’
उनले पारिवारिक एवं सामाजिक यातनाबाट बाहिर ल्याउन नसक्नुमा पीडित आफैं पनि जकडिएको समाजसँग डराउनु र चेतना अभिवृद्धि नभएका कारण रहेको बताए । ‘दाइजो र बोक्सी प्रथा उन्मूलन भए पनि अनकन्टार समाजमा चेतना दिन नसक्नु राज्यको कमजोरी हो, व्यक्ति आफैं सचेत हुनेभन्दा पनि उसलाई हिंसाजन्य घटना बाहिर ल्याएमा सम्बन्धित व्यक्ति वा समाजमाथि कारबाही हुन्छ भन्ने भान राज्यले दिन सक्नुपर्छ, जुन सकिरहेको छैन’, समाजशास्त्री प्याकुरेलले भने ।
दाईजोमा दुई लाख नपुगेको भन्दै वीरगन्जमै गत जेठ ८ गते एक महिलाको हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वीरगन्जको मूर्ली बगैंचामा राधादेवी साहको दाहिजोकै निहुँमा पति र ससुराले कुटेर मारेको भन्दै आफन्तले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशी तथ्यांकमा घटना वृद्धि भएको देखिए पनि अहिले मात्रै यस्ता घटना भएको भन्नेमा अस्वीकार गछन् । ‘मुलुकी ऐन बन्नुअगाडि पनि सामाजिक अन्धविश्वास र कुरीतिका घटना नभएको होइन, फरक यतिमात्रै हो, अहिले समाज अझ बढी चेतनशील हुँदै गयो, सूचना प्रविधिको विकास भयो र प्रहरी सक्रियता बढेकाले समाजभित्र लुकेका घटनाहरू सार्वजनिक भएका हुन्’, उनले भने ।
डीआईजी जोशी व्यक्तिहरू बिस्तारै विलासिता र भौतिकवादतर्फ उन्मुख भएकाले छोरी बलात्कृत गर्ने, बच्चा बलात्कृत हुने, परपुरुषसँग भाग्न बच्चाको माया नगर्ने, दाइजोको निहुँमा हत्या गर्नेजस्ता घटना भएका हुने गरेको बताउँछन् । उनले यस्ता घटना हुन नदिन प्रहरी सक्रिय भएर लागेको बताए ।
dainiknepal