रायमाझी आफ्नै अध्यक्ष ‘प्रचण्ड’विरुद्ध यसरी उत्रिए मैदानमा
काठमाडौं, २२ जेठ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति नहुँदासम्म केपी ओली नेतृत्वकै सरकार रहने दावी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयन र मुलुकको समृद्धिकोलागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको स्पष्टपार्दै बहुमतको सरकारको विकल्पमा बहुमतकै सरकार ल्याउँदा मुलुकमा अस्थिरता हुने धारणा राख्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनका लागि भित्रभित्रै तयारी गरिरहेका बेला रायमाझीको यस्तो अभिव्यक्ति आएको छ । रायमाझीको अभिव्यक्तिले दाहाललाई झट्का लाग्न सक्छ ।
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘अहिले सरकार परिवर्तनभन्दा पनि राष्ट्रिय सहमतिको सरकारको कुरा महत्वपूर्ण हो । सरकार परिवर्तनको माहौल बनिसकेको छैन । यो सरकारले काम गर्न सकेन भन्ने आरोप पनि लागेको छैन । त्यसैले अहिले सरकार परिवर्तन गर्न भन्दा पनि सहमति कायम गर्न छलफल गर्नु पर्छ ।’
उहाँले राष्ट्रिय सहमतिको सरकार निर्माण भनेको सबैलाई सरकारमा सहभागि गराउने विषय भएकोले सहमतिको सरकारको बन्ने अवस्थामा आफू जस्तो सुकै कम्परमाईज गर्न पनि तयार रहेको बताउनुभयो ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशको नेतृत्व गर्न नसक्ने दावी गर्दै भट्टराईले माओवादीको इतिहास छाडेर राम्रो कम नगरेको बताउनुभयो । ‘अभिष्ट पूरा गर्ने गरी कसैले आफू पनि नयाँ शक्तिमा जान लागेको भनि अफवाह फैलाएका हुन्’, रायमाझीले भन्नुभयो, ‘म माओवादी केन्द्रभित्रै रहेर रुपान्तरण गर्ने पक्षमा छु ।’
dainiknepal