प्रचण्डलाई ओलीको चुनौती- गोप्य सम्झौता भए देखाए हुन्छ !
२० जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।
बिहीबारदेखि काठमाडौमा सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ भने आफूलाई कुर्सीमोह नभएको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो जिन्दगी नाफाको भएको भन्दै कोही कराउँदैमा आफू नरोकिने बताए ।
आफूले बोनसमा पाएको जिन्दगीलाई देश विकाशमा लगाउने भन्दै ओलीले आफू आफ्नो गतिबाट पछि नफर्किने उद्घोष पनि गरेका छन् ।
विहीबार राजधानीमा एक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार फेर्ने कुनै सम्झौता नभएको भन्दै गोप्य सम्झौताको विषयमा हल्ला नहुने बताए ।
उनले प्रचण्डलाई इङ्गित गर्दै भने, “‘गोप्य सम्झौता भएको भए किन हल्ला गरेको त । केही गोप्य भएको छैन । भए कसैले यो सहमति हो भनेर देखाइदिए हुन्छ” ।
एमाओवादीका नेताहरुले बजेटपछि प्रचण्ड प्रधानमन्त्री बन्ने गरी ओलीसँग गोप्य सम्झौता भएको दावी गर्दै आएका छन् । कतिपय एमाले नेताहरुले समेत त्यस्तो सम्झौता भएको बताउने गरेका छन् ।
तर यही गोप्य भनिएको सम्झौताको विषयलाई लिएर ओली र प्रचण्डबीच मन मुटाव शुरु भएको बताइन्छ ।
ओलीले बजेटको आलोचना गर्ने विद्वान र आलोचकले आफूलाई खासै फरक नपार्ने बताए ।
वृद्ध भत्ता बढाउँदा समेत कतिपयलाई टाउको दुखेको भन्दै ओलीले मंसिरमा चुनाव गराएपछि मात्र सरकार परिवर्तन हुने भनाइ दोहोर्याए ।
नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे ।
nepaliheadlines