बन्दकर्ताद्वारा साझा यातायातमा ढुंगा प्रहार, ३३ जन पक्राउ
२७ जेठ
(1)काठमाडौं–बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्को नेकपा माओवादीले साझा बसमा ढुंगा प्रहार गरेका छन् । त्रिपुरेश्वरमा नेकपा माओवादीका कार्यकर्ताको ढुंगा प्रहारबाट यात्रुबाहक साझा बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्नेमध्येको एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै नेपाल बन्दको आह्वान गरेको विप्लव माओवादीका ३३ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । ‘अहिलेसम्म ३३ जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले भने, ‘पक्राउ परेकाहरुहरुलाई नगर प्रहरी, कालिमाटी र बालाजुमा राखिएको छ ।’
यसअघि राजधानीको तिनकुनेमा बन्दकर्ताले एउटा ट्याक्सी जलाएको थियो । आज गरिएको बन्दको अवज्ञा गरेको भन्दै माओवादीका कार्यकर्ताहरुले बिहानै बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् ।
कोटेश्वरबाट कलंकीतर्फ जाँदै जाँदै गरेको ट्याक्सीलाई विप्लवका कार्यकर्ताहरुले यात्रु बनेर ‘कलंकी जानु छ’ भन्दै तिनकुनेमा रोकेका थिए । लगत्तै ट्याक्सीभित्र पसेर पेट्रोल छर्किँदै उनीहरु भागेका थिए । महानगरीय प्रहरी बृत्त बानेश्वरका इन्सपेक्टर माधव जोशीले उनीहरुले ट्याक्सी चालक मकवानपुरका सुवास परियारलाई बाहिर समेत निस्कन नदिई आगजनी गरेर भागेका थिए ।
यसैबीच राजधानीका कालीमाटीबाट विप्लव माओवादीका ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।ratopati