विप्लबको बन्द: चालकलाई भित्रै राखेर ट्याक्सीमा आगजनी
काठमाडौं, जेठ २७ – बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।
कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले एक लिटर पेट्रोल ल्याएकोमा ८ सय एमएल ट्याक्सीमा खन्याएका थिए ।
आगो लाग्न थालेपछि चालक भागेको उहाँले बताउनुभयो । आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन कम मात्रामा चलेका छन् ।