रुपन्देही एफएमको प्रशासनमा तालाबन्दी
बुटवल, १९ जेठ । रुपन्देही एफएममा कार्यरत पत्रकार दिपेश पछाई र पुष्पा खनाललाई व्यवस्थापन पक्षले विना जानकारी निष्काशन गरेको विरोधमा पत्रकारहरुले प्रशासन र लेखाशाखामा तालावन्दी गरेका छन् ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा वुधवार रुपन्देही एफएम कार्यालयमा पुगेका पत्रकारहरुले प्रशासन र लेखाशाखामा तालावन्दी गरेका हुन । निष्काशित पत्रकारहरुलाई पुनर्वहाली नभए सम्म तालावन्दी जारी रहने महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।
यसअघि पटकपटक एफएम सञ्चालक र व्यवस्थापन पक्षलाई निश्कासित पत्रकारलाई विनासर्त पुर्नवहाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरेकाले महासंघले चरणवद्ध आन्दोलन गरेको छ । महासंघको नेतृत्वमा सोमबार एफएम कार्यालयमा धर्ना दिईएको थियो ।
यसैबीच आन्दोलनप्रति रुपन्देहीमा क्रियाशील पत्रकार सम्वद्ध संघ–संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीको सचिवालयमा बसेको संयुक्त बैठकल पत्रकारद्वय पछाई र शर्मालाई विना जानकारी हटाउनु गलत भएको निर्णय गर्दै तत्काल विनाशर्त पुर्नवहाली गर्न आग्रह गरेको छ ।
बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘श्रमजीवि ऐन विपरित निश्कासन गरिएकाले पुर्नवहालीका साथै न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको सेवासुविधा सहित तलव उपलब्ध गराउन एफएम व्यवस्थापन पक्षलाई आग्रह गर्दछौ ।’
पे्रस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरी, पे्रस युनियनका रुपन्देही सभापति विक्रम खड्का, क्रान्तिकारी पत्रकार संघका रुपन्देही अध्यक्ष भुवन कार्की, प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका अध्यक्ष श्याम पोखरेल, नेपाल पे्रस सोसाईटी रुपन्देही संयोजक रमेश पोखरेल, आदिवासी जनजाती पत्रकार मञ्चका अध्यक्ष टेकबहादुर मास्की राना लगायतले बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तीमा पत्रकारहरुको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिइएको छ ।
पत्रकार सम्वद्धसंघ संगठनहरुले पत्रकार महासंघले पींडित पत्रकारहरुको पक्षमा शुरु गरेको आन्दोलनप्रति पूर्ण सर्मथन र एक्यबद्वता जनाएका छन ।
dainiknepal