प्रचण्ड निवासमा माओवादी हेडक्वाटरको बैठक, नयाँ सरकारमा कांग्रेस देखि मधेसवादीसम्म हुने रोडम्याप प्रस्तुत
बुधबार, १९ जेठ
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व लिने दौडमा होमिएका छन ।
सरकार परिवर्तन र नेतृत्वको विषयमा पार्टी्भित्रकै नेताहरुको फरक फरक अभिब्यक्ति आउन थालेपछि प्रचण्डले विहानै पार्टीको हेडक्वाटरमा रहेका प्रभावशाली नेताहरु संग सामुहिक बैठक बसेर आफ्नो नेतृत्वमा एक मत बनाउने प्रयास गरेका छन ।
प्रचण्डले आज रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, मातृका यादव, मणी थापा लगायतका नेताहरुलाई आफ्नै निवासमा बोलाएर नेकपा एमालेसँग भएको नौ बुँदे सहमति सँगै बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी तीन बुँदे सहमति भएको जानकारी गराउँदै सोही अनुसार अब पार्टीको तर्फबाट सरकारको नेतृत्व लिन एकमत भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
स्रोतका अनुसार बैठकले सरकारको नेतृत्व लिन विभिन्न पक्षसँगको छलफललाई तिब्रता दिने आन्तरिक सहमति गरेको छ ।
प्रचण्डले प्रधानमन्त्रीको अभिब्यक्तिको विषयमा आफ्नो कुनै चासो नभएको भन्दै प्रधानमन्त्री स्वयमले आफूले बजेट पारित भएपछि नेतृत्व हस्तान्तरण गर्ने सहमति गरेकोले सहमतिको कार्यान्वयन हुने दावी गरे ।
आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनको बातावरण कायम रहेको दावी गर्दै नेपाली काग्रेस र मधेसबादी दलहरुसँग पनि कुराकानी भईरहेको प्रचण्डले छलफलको क्रममा जनाएका छन् ।
आगामी राजनैतिक रोडम्याप बारे उल्लेख गर्दै प्रचण्डले भने,‘ नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र मिल्नु पर्छ र सरकारमा मधेसबादी दलहरुसहित साना दललाई पनि ल्याएर त्यो सरकारले स्थानीय, प्रादेशिक र संघीय चुनाव गराउने छ । ’
उनले सरकारले बजेट र नीति तथा कार्यक्रमको अन्तिम तयारी गरिसकेको अवस्थामा सरकार परिवर्तनको कुरा गर्दा जनतामा राम्रो सन्देश नजाने भएकोले आफूले यही सरकारलाई निरन्तरता दिएको भन्दै अब मुलुकको निकासकोलागि सहमतिको सरकारको विकल्प नभएकोले प्रधानमन्त्री केपी ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखेका छन् ।
nepalsandesh