आज सार्वजनिक हुने ‘पपुलिष्ट’ बजेटका थाहा पाउनैपर्ने कुरा
१५ जेठ, काठमाडौं ।
एमाले नेतृत्वको सरकारले २०५१ सालमा ल्याएको चर्चित स्वरुपलाई पछ्याउँदै आज सरकारले आर्थिक वर्ष २०७३÷७४ को सार्वजनिक गर्दैछ । देशको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहेको सार्वजनिक भइरहेका बेला सरकारले भने ६.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राख्दै पपुलिष्ट बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।
यस अघिदेखि नै ठूला र महत्वकांक्षी योजना निर्माणको उद्घोष गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झण्डै १० खर्ब ३० अर्बभन्दा बढी आकार भएको बजेट ल्याउँने तयारी गरेको बुझिएको छ । सुरुमा ९ खर्ब ८ अर्बको बजेट ल्याउने तयारी भए पनि दिनदिनै बजेटको आकार बढाउँदै लगिएको हो । अन्तिम दिनसम्म पुग्दापनि बजेटको आकारबारे अर्थमन्त्री, अर्थसचिवसहितका संलग्नहरु टुंगोमा पुग्न नसकेका हुन् । दिउसो ४ बजे संसद भवन सिंहदरबारमा सरकारका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसपटक भूकम्पको पुननिर्माणको लागि डेढ खर्ब रकम छुट्टाइदैं छ ।
के के आउँदैछ बजेटमा
बजेटले सरकारी कर्मचारीको तलवमा १६ देखि २२ प्रतिशतसम्म बढाउँदैछ । त्यस्तै, वृद्ध भत्ता एक हजारबाट बढाएर १५ सय पुर्याउने तयारी सरकारको छ । युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण, एक घर एक रोजगारी दिने, किसानलाई पेन्सन दिने जस्ता पपुलिष्ट विषय पनि यसपटक बजेटले समेट्दै छ ।
महत्वकांक्षी योजनालाई प्राथमिकता
सरकारले यस अघिदेखि दाबी गर्दै आएको जलविद्युतदेखि सडकसहितका ठूला पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट ल्याउने तयारी गरेको छ । काठमाडौं–तराई फास्ट ट्रयाक, पूर्व पश्चिम रेलमार्ग, बहुचर्चित जलविद्युत आयोजना निर्माण, केरुङ–काठमाडौं–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग बनाउन पनि बजेटले रकम छुट्याउने तयारी गरेको छ । चीनसँग दीर्घकालीन व्यापारका लागि यस अघि नै सरकारले घोषणा गरे अनुसार,गल्छी रसुवागढी सडकलाई पनि बजेट छुट्याइने छ । यसपटक सरकारले ८५ वटा नयाँ कार्यक्रमलाई बजेटमा समेटेको छ ।
सरकारले यसपटक सातवटै प्रदेशमा कम्तिमा पनि एउटा ठूलो आयोजना बनाउने गरी बजेट छुटाउनेभएको छ ।
सांसदलाई २ करोड ५० लाख
यस अघि निर्वाचन क्षेत्र विकास कार्यक्रममा एक करोड ५० लाख दिंदै आएकोमा यसपटक एक करोड बढाएर दुई करोड ५० लाख पुर्याउने तयारी सरकारको छ । यस्तो रकमको सांसदहरुले प्रभावकारी रुपमा खर्च गर्न नसकिरहेको बेला सरकारले फेरि भार पर्नेगरी रकम बढाएको हो ।
तर, चुनौति उत्तिकै
यस अघिका बजेट खर्च नभई बजेट त्यत्तिकै फ्रिज भएको नौलो होइन । भएका बजेट पनि आर्थिक वर्षको अन्त्यमा खर्च गर्न खोज्दा प्रभावकारी रुपमा खर्च नभएको पाइन्छ । यस्तोमा सरकारले ल्याउन लागेको पपुलिष्ट बजेटले कसरी काम गर्छ र कार्यान्वयन हुन्छ भन्ने विषय निक्कै चुनौतिपूर्ण छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अनेक आश्वासन बाँडेर ल्याउँन लागेको बजेट दुरुपयोग हुने भन्दै चिन्ता जनाइसकेका छन् ।nepaliheadlines