यस्तो छ ओली मोदी सम्बन्ध बिग्रनुको खास कारण
सोमबार, ३१ जेठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीवीच पछिल्लो समय त्यति राम्रो सम्बन्ध छैन् । नवौं महाधिवेशनबाट अध्यक्ष बन्दा, संसदीय दलको नेतामा निर्वाचित हुँदा र प्रधानमन्त्री बन्दासमेत एमालेमा मोदीसँग ओलीको जति सुमधुर सम्बन्ध अरु कुनै नेताहरुको थिएन् । ओली भारतसँग राम्रो सम्बन्ध भएको नेताका रुपमा परिचित थिए । तर संविधान जारी हुनुभन्दा पहिले चार पार्टीविच भएको १६ बुँदे सम्झौताले उनको भारतसँगको सम्बन्धमा चिसोपना ल्याईदियो ।
१६ बुँदे सम्झौता हुनुपुर्व पनि उनले आफ्नो पक्षमा लविङ् सुरु गर्न तत्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दुतको रुपमा भारत पठाएका समाचार मिडियमा नआएका होईनन् । तर जब उनले संविधान जारी गर्ने अडानमा काँग्रेस, तत्कालिन एमाओवादी र फोरम लोकतान्त्रिकवीच भएको १६ बुँदेमा हस्ताक्षर गरे त्यहीँबाट उनको भारतसँगको सम्बन्धमा चिसोपना सुरु भयो ।
संविधान जारी गर्ने पूर्वसन्ध्यामा मोदीको विशेष सन्देश लिएर नेपाल ओर्लेका भारतीय विदेशसचिव सुव्रमन्यम जयशंकरसँगको झण्डै साँढे तीन घण्टा लामो वान टु वान छलफलमा ओलीले संविधान अलिदिन पछि सारेर जारी गर्ने भारतीय पक्षको सन्देशलाई ठाडै अस्विकार गरेपछि त उनको भारतसँगको सम्बन्ध विग्रिने अवस्थामा पुग्यो । उक्त बैठकमा ओली र विदेशसचिव जयशंकरवीच चर्काचर्की नै परेको कुरा मिडियामा नआएका होईनन् । तर त्यतिमै मोदी र ओलीको सम्बन्ध विग्रिहाल्छ भनेर धेरैले सोचेका थिएन् । विडम्वना ओलीको भारतसँगको सम्बन्ध त्यहीँबाट विग्रियोे ।
संविधान जारी भएपछि त झनै ओली–मोदी सम्बन्धमा दरार उत्पन्न भयो । संविधान जारी हुनुपुर्व चिसिएको सम्बन्ध संविधान जारी भएपछि उत्कर्षमा पुगेको विश्लेषकहरुले बताएका थिए । संविधान जारीपछि ओलीलाई भारतले त्यति रुचाएन् ।
प्रधानमन्त्री भएपछि मोदी दुईपटक नेपाल आए । दुवैपटक ओलीसँग विशेष कुराकानी गरेका मोदीले एक्कासी ओलीसँग टाढिनुमा ओलीकै कारण त्यस्तो अवस्थामा सम्बन्ध पुगेको भारतीय विश्लेषकहरु बताउँछन् ।
हुन त ओली प्रधानमन्त्री भएपछि उनका समकक्षी मोदीले उनलाई बधाई दिएका थिए । दुईदेशीय सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्दै आएका ओली संविधान जारी भएपपछि भारतसँग नझुक्ने अवस्थामा अडिए । उनले भारतले लगाएको नाकाबन्दीको त झन खुलेरै विरोध गरे । सार्वजनिक कार्यक्रममै भारतले नै नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिने काम गरेकोप्रति उनले कडा विरोध गरेका थिए, तर भारतले भने नाकाबन्दी आफूले नभई आन्दोलनरत मधेशी मोर्चाले गरेको अभिव्यक्ति दिएको थियो ।
नाकाबन्दीको सामाना गर्ने, बरु भोकै मर्ने तर भारतसँग नझुक्ने अभिव्यक्ति दिएपछि ओलीको स्वदेश लगायत अन्र्तराष्ट्रिय स्तरमा छवि त चुलियो तर भारत भने चिडियो ।
नाकाबन्दी अन्त्य गर्ने विषयलाई लिएर दुई नेतावीच लामै टेलिफोन सम्वाद भएको कुरा समेत बाहिर आएको थियो, तर उनको सम्बन्ध सुदृढ बनाउने पहलले सार्थक रुप लिन सकेन । ओली भारत भ्रमणमा जानुपुर्व उनको मोदीसँग दिनहुँ सम्वाद हुने गरेको थियो ।
भारत भ्रमणबाट फर्किएपछि त उनको मोदीसँग कुरै नभएको स्रोतको दाबी छ । यद्धपी उनले मोदीसँग सम्पर्क भने नगरेका होईनन् । उनले पटक पटक आफ्ना दुतहरुमार्फत मोदीसँग सिधा सम्पर्कका लागि प्रयास जारी राखेपनि ओली सफल हुन नसकेको बुझिएको छ । यो विचमा उनले सरकारकै तर्फबाट उपप्रधान एवम् पराष्ट्रमन्त्री कमल थापालाई मोदीसँग सम्बन्ध सुधारका लागि बारम्बार भारत पठाए, तर परिणाम सन्तोषजनक छैन् । थापा यो वीचमा चार पटक भारत पुगेपनि उनले अहिलेसम्म प्रधानमन्त्री मोदीसँग भेट्न पाएका छैनन् ।
कमल थापा त परै जाओस्, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले समेत प्रधानमन्त्री मोदीसँग भेटन पाएका छैन । मोदीले यतिवेला नेपाल हेर्ने बेग्लै समूह बनाएका छन् । उनले राजनीतिक रुपमा गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई जिम्मा लगाएका छन भने ट्र्याक टु डिप्लोमेसीका रुपमा नेपाल–भारत मामिला विज्ञ भगतसिंह कोशीयारीलाई विज्ञको रुपमा खटाएका छन् । खासगरी १७ वर्षपछि भारतको तर्फबाट प्रधानमन्त्री लेभलमा मोदीले नेपालको भ्रमण गरिसकेपछि नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रमा मात्रै सिमित नभएर राजनीतिक तहबाटै अघि बढेको भान हुन्थ्यो, तर संविधान जारी गरेको विषयलाई लिएर भारतीय प्रधानमन्त्रीले नेपालका कुनैपनि नेताहरुले त्यति भाउ दिएका छैनन् ।
पछिल्लो समय भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएर र भ्रमणको मुखमा आएर राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गरेपछि ओली–मोदी सम्बन्ध झनै उत्कर्षमा पुगेको छ । रिपोटर्स नेपालबाट ।