पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले रिले अनसनमा ऐक्यबद्वता जनाउने
काठमाडौं २९ जेठ । पूर्व परष्ट्रमन्त्री रमेश नाथ पाण्डेले राजधानीको खुला मञ्चमा जारी संघीय गठबन्धनको रिले अनसनमा ऐक्यबद्धता जनाउने भएका छन् ।
परराष्ट्र मामिला विज्ञ समेत रहेका पाण्डे भोलि जेठ ३० गते दिउँसो ४ बजे खुला मञ्च पुगेर अनसनमा ऐक्यबद्धतासहित समर्थन गर्ने बताइएको छ । गठबन्धनले उठाएको माग जायज रहेको र सरकारले तत्काल वार्ता मार्फत् सम्बोधन गर्नु पर्ने बताउँदै आएका पाण्डेको ऐक्यद्धतालाई महत्वका साथ हेरिएको छ ।
त्रुटिपूर्ण संविधान पुनर्लेखन गरी जनताको खोसिएको अधिकार संविधानमा सुनिश्चित गराउन पाण्डले विभिन्न अन्तर्वार्ता र लेखमार्फत् जारी आन्दोलनलाई समर्थन गर्दै आएका छन् ।
हालै एउटा अन्तरर्वार्तामा पाण्डेले भनेका थिए,– ‘प्रमुख तीन दलसहित सरकारले विगतको सहमति र सम्झौता लागू गर्न बेइमानी गरेकोले यो संविधान विवादित बनेको हो, र देशको विभिन्न भागमा आन्दोलन भएको छ । जनता सडकमा उत्रिएका छन् । यसकारण पनि जारी आन्दोलनको औचित्य प्रमाणित हुन्छ ।’
यही जेठ २५ गतेदेखि शहीद मञ्चमा जारी अनसनलाई नेपाली कांग्रेसका अर्जुन नरसिंह केशी, माओवादी केन्द्रका मातृका यादव, इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेल, अधिकारकर्मीहरु कपिल श्रेष्ठ, दिपेन्द्र झाले ऐक्यबद्धता जनाइसकेका छन् ।
त्यस्तै, नागरिक समाजका अगुवा दमन नाथ ढुंगाना, डा. सुन्दरमणि दीक्षित, सीके लाल सहित चिकित्सकको टोलीले पनि रिले अनसन स्थल पुगेर समर्थन गरेका छन् । रिले अनसन सुरु भएदेखि नै विभिन्न क्षेत्रबाट ऐक्यद्धता र समर्थन बढ्दै गइरहेको छ ।
dainiknepal