सत्तामा छँदा के गरे मधेसी नेताले ?
२४ जेठ, काठमाडौं ।
राजनीतिक पहुँचमा मधेसी नेताहरूको उपस्थिति बलियो देखिएको छ । २८ चैत ०६४ को संविधानसभा निर्वाचनदेखि ०६९ सम्म बनेका चार सरकारमा मधेसी दलका ४४ नेता मन्त्री भएका छन् ।
उनीहरूले ५६ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । १ चैत ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सम्मिलित मन्त्रिपरिषद्मा पूर्वसचिव उमाकान्त झा सिँचाइमन्त्री भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेका सरकारमा भने मधेसी दल सरकारमा भएका छैनन् ।
पहिलो मधेस आन्दोलन र सहमति
०६३ माघमा पहिलोपटक मधेस आन्दोलन भयो । आन्दोलनको नेतृत्व तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका शान्तिमन्त्री रामचन्द्र पौडेलसँग यादवले ०६४ भदौमा २२ बुँदे सहमति गरे । त्यतिवेला मुख्यत: मुलुक संघीय संरचनामा जाने तथा स्वायत्त मधेस प्रदेशबारे सहमति भएको थियो ।
मधेसी जनअधिकार फोरमसँग २२ बुँदे सहमति भए पनि कांग्रेसबाट बाहिरिएका महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेस लोकतान्त्रिक पार्टीले १ फागुन ०६४ मा अर्को मधेस आन्दोलन गर्यो । सो आन्दोलनपछि १६ फागुनमा आठबुँदे सहमति भयो ।
मधेसी जनताको चाहनाअनुसार मधेस प्रदेश बनाउने, राज्यका निकायमा समानुपातिक समावेशीको व्यवस्था गर्ने तथा सेनामा समूहगत प्रवेशलगायतका मागमा सहमति भएको थियो । २८ चैत ०६४ मा संविधानसभा निर्वाचन भएपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । सरकारमा विगतमा सम्झौतामा हस्ताक्षर गर्ने मधेसी दलका नेताहरू सहभागी भएका थिए ।
सत्तामा हुँदा बेवास्ता गरिएका माग अहिले पनि
गत वर्ष साउनदेखि आन्दोलनरत मधेसी दलले विभिन्न ११ बुँदे माग राखेका छन् । ती मागमा यसअघिका सरकारसँग भएका सम्झौताका बुँदा पनि छन् ।
स्वायत्त मधेस प्रदेश हुनुपर्ने, नागरिकता खुकुलो बनाउनुपर्ने, सेना समावेशी बनाउनुपर्ने माग अहिले पनि मधेसी दलले उठाउँदै आएका छन् । तर, सरकारमा रहेका वेला मधेसी दलका नेताले यी माग सम्बोधनतर्फ चासो नदिएको मधेसीहरूकै आरोप छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines