भारतमा फेरि चर्कियो जाट आन्दोलन
आन्दोलन रोक्न सुरक्षाकर्मीको ५५ कम्पनी तैनाथ
काठमाडौं: आरक्षणको मागलाई लिएर जाट समुदायले भारत सरकालाई दिएको अल्टिमेट सोमबार समाप्त भएको छ ।
अल्टिमेटमको म्याद सकिँदा पनि भारत सरकारले आफ्ना मागबारे सुनुवाइ नगरेपछि हरियाणाका १५ गाउँमा जाट समुदायले आन्दोलनका लागि धर्ना र प्रदर्शन शुरु गरेका छन् ।
जाट आन्दोलन उठ्ने डरले भारत सरकारले तत्कालै हरियाणा राज्यका कयौं इलाका अर्धसैनिक बलको ५५ कम्पनी तैनाथ गरेको छ ।
राज्यका आठ जिल्लामा धारा १४४ लागू गरिसकिएको छ । रोहतक र सोनीपतमा मोबाइल इन्टरनेट ग्रुप एसएमएसमा प्रतिबन्ध लगाइएको छ ।
धारा १४४ लागू गरिएका जिल्लाहरुमा झज्जर, सोनीपत, रोहतक, पानीपत, हिसार, जिन्द, फतेहाबाद र क्याथल रहेका छन् ।
हरियाणा राज्यबाट जोडिएका राष्ट्रिय राजमार्ग र रेल लाइनको दुबैतर्फ एक किलोमिटरसम्म धारा १४४ लागू गरिएको छ। यो धारा लागू भएपछि पाँच या त्यसभन्दा बढी मानिसलाई भेला हुन रोक लगाइएको छ ।
समाचार अनुसार सरकारसँगको सम्वादपछि यशपाल मलिकको अगुवाईमा रहेको जाट आरक्षण संघर्ष समिति शहर छाडेर गाउँमा प्रदर्शनमा उत्रन लागेको हो
जाटहरुले रेल र सडक मार्गमा धर्ना नदिने आश्वासन आएकाले भारत सरकाले राहत महसुस गरेको छ । १५ जिल्लाका गाउँमा १५ दिनसम्म धर्ना चल्नेछ ।
यस क्रममा सरकारले यदि जाट आन्दोलनकारीमाथि लगाइएको मुद्दाबारेमा आफ्नो धारणा प्रष्ट नपारेमा जाटहरुले पहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।
यसैबीच हरियाणा राज्यका मूख्यमन्त्री मनोहर लाल खट्टरले मानिसहरुलाई शान्ति कायम गरिरहन अपिल गरेका छन् ।
आन्दोलनको घोषणालाई मध्यनजर गर्दै हरियाणा पुलिसले बिहीबार पुलिसकर्मीको अवकाश रद्द गर्ने घोषणा गरेको थियो ।
हरियाणाका अतिरिक्त पुलिस महानिर्देशक (एडीजीपी) मुहम्मद अकिलले पुलिस कुनै पनि परिस्थितिको सामना गर्न तयार र सक्षम रहेको बताएका छन् ।
उनले पुलिस र जिला प्रशासन कानून व्यवस्था कायम राख्न सक्षम रहेकाले जनताको सुरक्षा सुनिश्चित गर्ने कुरामा कुनै कसर नछाडिने बताए ।
उनले पुलिस कुनै पनि समूहबाट सडक या रेल मार्ग जाम गर्ने प्रयासलाई असफल बनाउन लागेको बताए । पुलिसले अहिले सहरी इलाका र ग्रामीणबासीसँग पनि शान्ति कायम गरिराख्न छलफल थालिरहेको छ।
हरिणायाले आफ्नो पाँच दशकको इतिहासमा यस साल फेब्रुअरीमा जाट आन्दोलनका क्रममा हिंसाको सबैभन्दा डरलाग्दो रुपको सामना गर्यो ।
आन्दोलनका ३० जनाको ज्यान गएको थियो भने ३२० जना घाइते भएका थिए । साथै अर्बौं रुपैयाँको सम्पत्ति पनि बर्बाद भएको थियो । करिब १० दिनसम्म राज्य पुरै असफल भएको थियो ।
annapurnapost