प्रचण्ड र ओलीबीच वान टू वान वार्ता
२३ जेठ, काठमाडौं ।
पछिल्लो समयमा एक आपसलाई लक्षित गर्दै कटाक्षपूर्ण अभिब्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकार परिवर्तनको विषयमा खुला कुरा भएको लाजिम्पाट श्रोतले बताएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई प्रचण्डले आफूहरुबीच भएको सरकारको नेतृत्व फेर्ने भद्र सहमतिको विषयमा स्मरण गराउँदै राष्ट्रिय सहमतिको पहल लिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सरकार गठनमा आफू असहमत नरहेको तर अहिले त्यसको माहौल नरहेको जवाफ दिएको बुझिएको छ ।
प्रचण्डले एमालेबाट भद्र सहमति पालना नभए आफूहरुले सरकार छोड्ने अवस्था आउन सक्ने संकेत गरेपछि प्रधानमन्त्री ओलीले हतारमा निर्णय नगर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
प्रचण्ड निकटका केही नेता मात्र नभएर एमालेका नेताहरुले बजेटपछि सरकार छोड्ने भद्र सहमति भएको दाबी गर्दै आइरहेका छन् । तर ओली र उनी निकट नेताहरुले यो कुरा अस्वीकार गरिरहेका छन् ।
माओवादीसँग गरिएको ९ बुँदै समझदारीका क्रममा ३ बुँदे भद्र सहमतिसमेत भएको सन्दर्भमा एमालेभित्र पनि विवाद देखिएको छ । झलनाथ खनाल, वामदेव गौतम र माधव नेपालहरु भद्र सहमति पालना गरिनुपर्ने पक्षमा छन् भने केपी ओलीपक्ष सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएको छ ।
प्रचण्डले भने भद्र सहमति पालना नगरे राजनीति असहमतिको दिशामा जाने भन्दै ओलीलाई राष्ट्रिय सरकारको पहल लिने सहमति पालना गर्न आग्रह गरेको बुझिएको छ ।nepaliheadlines