प्रधान सेनापतिद्वारा फायरिङ्ग अभ्यासको निरीक्षण
काठमाडौं, २३ जेठ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको छाउनीस्थित हवाई सुरक्षा निर्देशनालय अन्तर्गतका फौजहरुद्वारा धनुषा जिल्लाको भिमानस्थित आर्टिलरी फायरिङ्ग रेञ्ज ईलाकामा संचालन भईरहेको अभ्यास हवाई प्रतिरक्षा एक फिल्ड फायरिङ्गको निरीक्षण गर्नु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै सकदलर्जाको पेशागत दक्षता अभिबृद्धि गर्ने उद्देश्य अनुरुप संचालित उक्त फायरिङ्ग अभ्यास निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो । उक्त अवसरमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापा लगायत अन्य रथीबृन्दहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त फायरिङ्ग निरीक्षण पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री चितवन राष्ट्रिय निकुञ्जद्वारा आयोजित दुई बर्षे शून्य चोरी शिकारको दुर्लभ उपलब्धी मनाउन आयोजित कार्यक्रममा सहभागी हुनु भएको थियो । सोही अवसरमा उहांले वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि संचालन गर्न चितवन राष्ट्रिय निकुञ्जमा स्थापित ‘संयुक्त संरक्षण कारवाही कक्ष’को उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको क्रममा उहांले कम्युनिटी बेस एन्टी प्वाचिङ युनिट केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रदर्शन गरिएको प्रकृति संरक्षण सम्बन्धी डकुमेन्ट्री एवं नाटकको अवलोकन गर्नु भएको थियो भने प्रकृति संरक्षणमा विशेष योगदान पुर्याउनु हुने महानुभावहरुलाई प्रमाण पत्र तथा कदर पत्र प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा प्रधान सेनापति महारथी क्षत्रीले वन्यजन्तु पीडित निकुञ्ज कर्मचारी तथा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका सन्तानहरुलाई छात्रबृत्ति वितरण गर्नु भएको थियो । त्यसैगरी, उहांले जीवनभर प्रकृति संरक्षणमा विशेष योगदान पुर्याउंदै आउनु भएका रामप्रित यादवलाई लाइफ टाइम कन्भरसेसन एचिभमेन्ट अवार्डद्वारा सु(शोभित गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा, प्रधान सेनापति क्षत्रीले मन्तव्य व्यक्त गर्नुहुंदै चौथो पटक र निरन्तर रुपमा दुई बर्ष शुन्य चोरी शिकारको दुर्लभ उपलब्धी मनाउन आयोजित कार्यक्रममा सरिक हुन पाएकोमा गौरवान्वित भएको बताउनु भई प्रकृति संरक्षणमा विशेष योगदान पुर्याउने सम्पूर्णको योगदानको कदर गर्दै हार्दिक बधाई व्यक्त गर्नु भएको छ । त्यसैगरी, संरक्षण कार्यलाई थप असरदार बनाउन नेपाली सेनालाई प्रविधियुक्त गर्दै लगिने र नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जद्वारा स्थापित ‘संयुक्त संरक्षण कारवाही कक्ष’ वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि संचालन गर्न ज्यादै प्रभावकारी हुने बताउनु भएको छ ।
उक्त कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, नेपाली सेनाका बलाध्यक्ष तथा अन्य रथीबृन्दहरु, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक, चितवन जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका उच्चपदस्थ पदाधिकारीहरु, अन्य सरोकारवालाहरु लगायत स्थानीय भद्र भलाद्मी तथा संरक्षणकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रधान सेनापति क्षत्री आज बेलुकी चितवनस्थित श्री श्रीजंग गणको बार्षिकोत्सव कार्यक्रममा सहभागी भई सोही गणमा मुकाम रहने र सोमबार सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण पश्चात् काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।
dainiknepal