४४ नेता, ५६ पटक मन्त्री, कुन–कुन समयमा थिए सरकारमा मधेसी नेता ?
काठमाडौं, २४ जेठ । राजनीतिक पहुँचमा मधेसी नेताहरूको उपस्थिति बलियो देखिएको छ । २८ चैत ०६४ को संविधानसभा निर्वाचनदेखि ०६९ सम्म बनेका चार सरकारमा मधेसी दलका ४४ नेता मन्त्री भएका छन् ।
उनीहरूले ५६ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । १ चैत ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सम्मिलित मन्त्रिपरिषदमा पूर्वसचिव उमाकान्त झा सिँचाइमन्त्री भएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेका सरकारमा भने मधेसी दल सरकारमा भएका छैनन् ।
पहिलो मधेस आन्दोलन र सहमति
०६३ माघमा पहिलोपटक मधेस आन्दोलन भयो । आन्दोलनको नेतृत्व तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका शान्तिमन्त्री रामचन्द्र पौडेलसँग यादवले ०६४ भदौमा २२ बुँदे सहमति गरे ।
त्यतिवेला मुख्यत: मुलुक संघीय संरचनामा जाने तथा स्वायत्त मधेस प्रदेशबारे सहमति भएको थियो । मधेसी जनअधिकार फोरमसँग २२ बुँदे सहमति भए पनि कांग्रेसबाट बाहिरिएका महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेस लोकतान्त्रिक पार्टीले १ फागुन ०६४ मा अर्को मधेस आन्दोलन गर्यो ।
सो आन्दोलनपछि १६ फागुनमा आठबुँदे सहमति भयो । मधेसी जनताको चाहनाअनुसार मधेस प्रदेश बनाउने, राज्यका निकायमा समानुपातिक समावेशीको व्यवस्था गर्ने तथा सेनामा समूहगत प्रवेशलगायतका मागमा सहमति भएको थियो ।
२८ चैत ०६४ मा संविधानसभा निर्वाचन भएपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । सरकारमा विगतमा सम्झौतामा हस्ताक्षर गर्ने मधेसी दलका नेताहरू सहभागी भएका थिए ।
सत्तामा हुँदा बेवास्ता गरिएका माग
अहिले पनि गत वर्ष साउनदेखि आन्दोलनरत मधेसी दलले विभिन्न ११ बुँदे माग राखेका छन् । ती मागमा यसअघिका सरकारसँग भएका सम्झौताका बुँदा पनि छन् । स्वायत्त मधेस प्रदेश हुनुपर्ने, नागरिकता खुकुलो बनाउनुपर्ने, सेना समावेशी बनाउनुपर्ने माग अहिले पनि मधेसी दलले उठाउँदै आएका छन् । तर, सरकारमा रहेका वेला मधेसी दलका नेताले यी माग सम्बोधनतर्फ चासो नदिएको मधेसीहरूकै आरोप छ ।
कुन–कुन समयमा थिए सरकारमा मधेसी नेता ?
प्रचण्ड नेतृत्वको सरकारमा २२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता उपेन्द्र यादव उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । आठबुँदे सम्झौतामा हस्ताक्षरकर्ता सद्भावनाका अध्यक्ष राजेन्द्र महतो आपूर्तिमन्त्री थिए ।
तर, त्यतिवेला विगतमा आफैँले गरेका सहमति कार्यान्वयन गराउन उनीहरू अग्रसर भएनन् । प्रचण्डले २० वैशाख ०६५ मा राजीनामा दिएपछि एमाले नेता माधव नेपालको नेतृत्वमा सरकार गठन भयो । त्यो सरकारमा मधेसी जनअधिकार फोरम फुटाएर विजय गच्छदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरू मन्त्री भए ।
एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बनेका वेला फोरम अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी थिए । ६ महिनामै खनाल सरकार ढलेपछि एमाओवादी नेता बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बन्यो । त्यसमा पनि मधेसी दल सहभागी भएका थिए ।
सद्भावना अध्यक्ष राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलगायतका नेताहरू सरकारमा सहभागी भएका थिए । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा ०६९ चैतमा पूर्वकर्मचारीको सरकार गठन भयो । त्यो सरकारमा मधेसीको प्रतिनिधित्व पूर्वसचिव उमाकान्त झाले गरेका थिए ।
मधेसीलाई ओली सरकारले गरेका नियुक्ति
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएपछि विभिन्न तहमा मधेसी समुदायबाट पनि नियुक्ति भएका छन् । राष्ट्रिय योजना आयोगमा डा. कामानन्द देव, कतारको राजदूतमा महेन्द्र सिंह र साउदी अरबको राजदूतमा अली अख्तर मिकरानी, संयुक्त राष्ट्रसंघ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरी नियुक्त भएका छन् ।
०६४ यता को कतिपटक भए मन्त्री ?
तीनपटकसम्म मन्त्री भएका
१. विजयकुमार गच्छदार २. राजेन्द्र महतो ३. महेन्द्र यादव
दुईपटकसम्म मन्त्री भएका
१. शरत्सिंह भण्डारी २. जयप्रकाश गुप्ता ३. उपेन्द्र यादव ४.रामवचन यादव अहिर ५. सरोज यादव ६. दानबहादुर चौधरी
एकपटक मन्त्री भएका
१. राजकिशोर यादव २. सुरिता साह ३. मृगेन्द्रकुमारसिंह यादव ४. हरिनारायण यादव ५. अकबाल अहमद साह ६. नन्दन दत्त ७. ओमप्रकाश यादव गुलजारी ८. विजय यादव ९. अनिल झा १०. खोभारी राय ११. रेणु यादव १२. रामचन्द्र कुसवाहा १३. सर्वेन्द्रनाथ शुक्ल १४. गोविन्द चौधरी १५. इस्तियाक राइन १६. सरिता गिरी १७. ईश्वरदयाल मिश्र १८. सञ्जय साह १९. करिमा वेगम २०. कलावतीदेवी पासवान २१. बृजेश गुप्ता २२. कासीदेवी झा २३. सर्वदेव ओझा २४. अरबिन्द साह २५. शत्रुधनसिंह कोइरी २६. रमणी राम २७. गणेश नेपाली २८. चन्दा चौधरी २९. हेमराज ताँतेड ३०. दुर्गादेवी महतो ३१. लक्ष्मणलाल कर्ण ३२. राजलाल यादव ३३. वकिल मुसलमान ३४. लक्ष्मण मेहता ३५. हृदयेश त्रिपाठी
dainiknepal