राष्ट्रपतिले गरेकै कामको यो बेहाल
गोरखा, २४ जेठ । आफ्नौ गाउँलाई केन्द्र बनाएर गत वर्ष वैशाख १२ गते गएको भूकम्पले बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घरक्षतिग्रस्त भयो । त्यहाँका १ हजार ४ सय ७० घर क्षतिग्रस्त भए । ती घरबाट केही निकाल्न पाइएन ।
त्यसयता गोपालले चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यही टहरोभित्र तीन जनाको परिवार वर्ष दिन काटायो । एक वर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर चढेर बारपाक पुगिन् ।
भूकम्प गएको ११ बजेर ५६ मिनेटकै घडीपला मिलाएर पण्डित इश्वरीप्रसाद रेग्मीले वेदका ऋचा पढे । राष्ट्रपतिले गोपालको घरको जग पूजा गरिन्, ढुंगा राखिन् र साबेलले सिमेन्ट राखेर शिलान्यास गरिन् ।
केहीबेरपछि राष्ट्रपतिकै रोहबरमा गोपालले दुई लाख रुपैयाँ अनुदान पाउने सम्झौता पनि भयो ।
गाविस सचिव चेतनाथ अम्गाइँले उनलाई सम्झौता पुस्तिका हस्तान्तरण गरे । राष्ट्रपति आफ्नो घर शिलान्या गरेपछि गोपालले मात्रै होइन, सारा गाउँलेले छिट्टै घर बन्ने सपना देखेका थिए ।
४५ दिनपछि बारबाकस्थित उनको टहरामा पुग्दा राष्ट्रपतिले शिलान्यास गरेको जगको खाल्डो रित्तै थियो ।
राष्ट्रपतिले पूजा गरेर राखेका ढुंगा त्यहाँ थिएनन् । पानी पर्दा भल पसेर आधाआधाी जग माटोले पुरिएको थियो । घर बन्नु त परेको कुरा, आनजसम्म भग्नावशेष सतह पनि सम्याइएको छैन ।
पूजा गरेका अरु ढुंगा कता पुगे, एउटाचाहिँ जोगाएर घरभित्रै छोपेर राखेको गोपालले बताए ।
dainiknepal