एकचोटी फेरी सोध्न मन लाग्यो – सरकार न्याय कहाँ पाइन्छ ?
जैनव खातुन-
पोखरा । समयसँगै समाज विकसित हुँदै गए पनि मानवीय स्वभाव र सोच भने बदलिन सकेको छैन । मेरा आँखाले देख्न नसकेको न्याय र मैले पाउन नसकेको न्याय कँहा कसरी पाउन सक्छु आज आफैसँग प्रश्न गरेरै घोत्लिरहेकी छु । हिजो र आज धेरै भौतिक परिर्वतन भएतापनि संकुचित विचार कहिले परिवर्तन होला ? यहि प्रश्नमा म अझै पनि अल्झिरहेकी छु ।
मैले बाल्यकालमा बाल अधिकारका धारा र नारा धेरै सुनें । ती अधिकारको कार्यान्वयन भएको मेरो व्यक्तिगत जीवनमा पाउन सकिनँ । म मदरसामा पढ्थें । तर, किशोरी भए कै कारण मलाई मदरसा पढ्न नदिइ निकालियो । मदरसाको शिक्षाबाट म बञ्चित भएँ । तर, मेरो शिक्षा लिने चाहानालाई मैले रोक्न सकिनँ, मैले पढाइलाई निरन्तरता दिएँ ।
परम्परागत सामाजिक संरचनाभित्र जगडिएको कुरीति र कुसंस्कृतिविरुद्ध म सानै देखि उभिन्थें । जसका कारण म परिवर्तन चाहानेहरूका लागि राम्रो पात्र थिएँ भने यथास्थितिवादीहरूका लागि धर्म संस्कृतिको उल्लंघन गर्ने विद्रोही स्वभावकी केटी ।
मेरो यही स्वभाव र विद्यालय गएकै कारण मेरै परिवारबाट चरित्र हत्या गर्ने प्रयास बारम्बार भइरहे । मैले देख्न नसक्ने, तर भित्र भित्र पोल्ने पीडाले मलाई जलाइरह्यो ।
मुस्लिम समुदायकी एक किशोरी म संचार क्षेत्रको प्रवेशले झनै तरङ्ग पैदा गर्यो । जुन समुदायका युवाको शैक्षिक तथा राजनैतिक तथ्याङ्गकलाई हेर्ने हो भने आज पनि न्यून रहेको हामीले देख्छौं ।
यस समुदायका पुरुष विदेश जाने र महिलाले घरपरिवार सम्हाल्दै आफ्नो जीवन चलाउँदै आएका छन् । तर, मैले त्यो भन्दा भिन्न सोच बनाएँ । अरुका लागि पनि केही गरौं भन्ने मेरो सोचले सामाजिक कामका साथै पत्रकारिता पेसा रोजेर अघि बढेँ ।
संचारको यात्राले मलाइ धेरै सिकायो, बुझ्ने बनायो र अधिकारकालागि लड्ने आत्मविश्वास पनि दिलायो । सामाजिक बन्धन तोडेर परिवर्तनको पथमा पाइला चाल्दा सडक भरी तेस्र्याइएका काँडे तारले धेरै चोटी अवरोध सृजना गरे । एक्लो प्रयास यद्यपी जारी छ अन्यायविरुद्ध लड्नलाई । तर मेरोे यही प्रयास र सहास नै मेरो आफ्नै परिवारका सदस्यका लागि समेत स्विकार्य हुन सकेको छैन ।
हिजो असजिलो बनाउँदै आएको समाजले मेरो पेसालाई सहजताका साथ स्विकार्दै थियो, तर संकुचित मानसिकताको चौघेरामा हुर्के बढेकी मेरै आमालाई समेत मेरो पेसा स्विकार्य हुन सकेन । मलाई मेरै आमाले घरबाट निकालेकी छन् । बाबा त वितिसक्नुभयो, तर आमा हुँदाहँदै पनि म आज सडकमा टुहुरी भएकी छु ।
समुदायका अरु युवती भन्दा भिन्दै जीवन शैली रोज्दै अघि बढीरहेकी मलाई आवाजविहिनहरूको आवाज बन्नु थियो । सधैँ समुदायमा सचेतनाका साथै सतर्कताका लागि खबरदारी गर्नु मेरो कर्तव्य हुन आउँथ्यो ।
सबैको अधिकार सुसूचित गराउँदै आवाज बोकेर हिँड्न म आज भने आफैँ आवाजविहिन हुन पुगेकी छु । म स्वयम कै अधिकार हनन् भएको व्यथाले जलिरहेकी छु । तर, देखाउन मसँग शब्दहरूको अभाव भइरहेको छ, साथहरूको कमी भैरहेको छ । पारिवारिक विभेदको चपेटामा परिरहेकी म बोल्न नसक्ने भएकी छु ।
लिङ्ग भेदको मारमा आज म परिरहेकी छु । यो भेद समाजमा मात्र होइन राष्ट्रको नीतिले पनि गरेको छ । बंशजको अधिकार होस् वा अंश । यो अधिकार केबल पुरुषका लागि नै कानुन र समाजले वकालत गरेको छ ।
नौ महिना कोखमा राखेर माया ममता दिएर हुर्काएकी मेरी आमाले आज आफ्नो ममताको मुल्य मलाई रुवाएर लिइरहेकी छन् । मलाई शब्दका लाठी बर्साउँदै चरित्रहत्या गर्न मेरै आमाले अगुवाइ गरिरहेकी छिन् । ममताभित्रको निर्दयिता र कठोरताको बर्वरताले म आजित छु ।
म टेलिभिजनमा काम गर्छु, रेडियोमा काम गर्छु । कार्यक्रमको शिलशिलामा विभिन्न ठाउँ पुग्नु पर्छ । विभिन्न व्यक्तिसँग बोल्नुपर्छ । तर, मेरो यही पेसा मेरी आमाको नजरमा चरित्रहीन कार्य भएको छ । मेरी आमाको बुझाइलाई मैले जति गर्दा पनि परिवर्तन गर्न सकेकी छैन । छोरा च्यापेर छोरी पाखा लगाउन खोज्ने आमाको दुश्चक्रमा म नराम्ररी फसेकी छु । आफैं पीडित भएर अरुको अधिकारको आवाज उठाउँदा के सार्थक होला र रु कहिलेकाहीँ यस्तै लाग्छ ।
हिजो मेरो बाबाको मृत्यु पश्चात मेरो दाईले केही काम गर्न नसक्दा म छोरी नै भएपनि घर परिवारको दैनिकी चलाउन अघि सरें । दाई विदेश गए, तर स्वदेश फर्किंदा आफ्नो परिवारलाई छाडी स्वेच्छाले विवाह गरी छुट्टै बस्न थाले ।
सम्पूर्ण जिम्मेवारी बहन गरिरहेका हामी छोरी जति संघर्ष गरेपनि त्यसको मूल्याकंन न त परिवारले ग¥यो, न त कानुनले नै गरेको छ । १२ वर्षपछि घर आएका दाइको सम्पत्तिमाथिको अधिकार सुरक्षित छ । भोको पेटमा दाना हाल्न जोतिइरहेकी म र मेरी दिदी भने सम्पत्तिमाथिको अधिकारबाट बञ्चित छौं ।
छोरा अंश लिन ५० वर्षसम्म आउँदा पनि हुने कानुनी व्यवस्था छ । तर जीवन भरी माइतिको रेखदेख गरेकी छोरीको भने मुल्यांकन नै हुँदैन । अझ विवाहित भनेपछि त त्यसै पराइ घरकी नासो, माइती घरमा कुनै अधिकार नै हुँदैन । यसैको सिकार बनेका छौं म र मेरी दिदी । हामीमाथि गरिएको विभेद र हिंसाले मलाई न्यायलयको ढोका ढकढकाउन बाध्य पारेको छ । तर हाम्रो आवाज कानुनका बन्द ढोका भित्र छिर्न सकेको छैन ।
मान्छे कति स्वार्थी हुँदा रहेछन् धन सम्पत्तिले आफ्ना पनि पराइ हुँदा रहेछन् भन्ने कुरा आज मैले आफ्नै दाई, आमा र कान्छी बहिनी ज्वाइसँग सिक्दै छु । यो संसारमा केबल पैसाको मुल्य रहेछ । माया ममता परिवारिक सम्बन्ध भन्ने जस्ता कुराको कुनै महत्व नै रहेनछ ।
राजनैतिक संरक्षणको आडमा मच्चाइएको वितण्डाको पनि छानविन के होला र रु पार्टीको नाममा दमन गर्दै कानुन तोड्दै गुण्डाराज मच्चाउन खोज्ने कार्यकर्ताको संरक्षणले निमुखा नागरिक सधैँ पीडित हुन बाध्य भएका छन् । म जस्ता हजारौ नारी अन्यायको अग्नीमा जलिरहेकाहरूले न्याय खोज्न कहाँ जानु पर्ने हो ?
अपराधिलाई पनि राजनैतिक संरक्षण प्रदान गर्दै संवैधानिक अधिकार दिन पछि नहट्ने राज्यबाट देखाउन नसक्ने विभेदको भुमरीमा परिरहेका हामीजस्ता पीडितले कहाँ र कसरी न्याय पाउँछौ ? शान्तिसँग बाँच्न पाउने अधिकारको संरक्षण कसरी हुन्छ रु आफ्नो पेसामा स्वतन्त्र भई लाग्ने दिन कहिले आउला ?कलम समाउँदै गरेको यो आन्दोलनको विजय कहिले होला ? एकचोटी फेरी सोध्न मन लाग्यो सरकार न्याय कहाँ पाइन्छ ?
Source : NewsBank