‘नेपालको समृद्धिमा हातेमालो गर्न भारत तयार’
२०७३ असार १ बुधवार
भैरहवाः नेपालका लागि भारतीय राजदूत रञ्जीत रे ले नेपालको समृद्धिका लागि भारत सरकार हातेमालो गर्न तयार रहेको बताएका छन् ।
बुधबार बिहान निमा मेमोरियल हेल्थ इन्सिच्यूडको भवन उद्घाटन समारोहमा बोल्दै राजदूत रेले भने, ‘भारत सरकार नेपालको आर्थिक समृद्धिका लागि हातेमालो गर्न सधैँभरी तयार छ ।’
राजदूत रे ले नेपालमा राजनीतिक विकासको अपेक्षा गरेको समेत बताए ।
भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित प्रतिमान निमा मेमोरियल हेल्थ इन्सिच्यूडको भवन श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र राजदूत रे ले संयुक्त रुपमा उद्घाटन गरे ।
भारत सरकारबाट प्राप्त ३ करोड ७५ लाख ६२ हजार ८ सय ७१ रुपैयाँ लागतमा निर्मित भवनमा २२ कोठा रहेका छन् ।
भवन ११ हजार ४ सय ७२ दशमलब ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । भवन राष्ट्रिय भवन संहिता अनुरुप भूकम्प प्रतिरोधात्मक शैलीमा तयार गरिएको भवनमा निर्माणमा संलग्न प्राविधिकले बताए ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालयमा सरकारले जोड दिइरहेका बताए ।
बोहराले प्रतिमान निमा दक्ष जनशक्ति उत्पादन गर्ने व्यवसायिक प्रतिष्ठानको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।
इन्सिच्यूडका संरक्षक डा. आलोक बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदह अब्दुल रज्जाक, इस्तियाक अहमद खाँ र रुपन्देहीका विभिन्न कार्यालय, संघसंस्था र राजनीतिक दलका प्रमुखको सहभागिता थियो ।
इन्सिच्यूडमा ल्याब टेक्निसियन र एसिस्टेन्टको अध्ययन अध्यापन भइरहेकोछ । अबको शैक्षिक सत्रदेखी फार्मेसी, फरेस्टी र रेडियोग्राफीको पनि पढाइ शुरु हुने इन्सिच्यूडका प्रबन्ध निर्देशक धर्मबहादुर के.सील जानकारी गराए ।
annapurnapost