Tuesday, June 7, 2016

थेग्न नसक्ने महँगी: केमा कति बढ्यो ?

काठमाडौं, २६ जेठ । आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटसँगै सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ ।
व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी खाद्यान्न, खानेतेल, तरकारी, माछामासुलगायतको मूल्य आफूखुसी मूल्य वृद्धि गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
व्यापारीले मौकाको फाइदा उठाउँदै १५ दिनको अवधिमा हरेक खाद्य वस्तुको मूल्यमा न्युनतम पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म वृद्धि गरेका छन् ।bhado
नाकाबन्दीको समयमा आपूर्तिको अभावमा अकासिएको बजार भाउ क्रमिकरूपमा सुधार आउँदै गरे पनि पछिल्लो समयमा मूल्य वृद्धि पुनः अकासिन थालेको छ ।
अहिले आपूर्ति सहज भए पनि सरकारको कमजोर नियमन संयन्त्रका कारण व्यापारीले खाद्य पदार्थको मूल्य बताएका छन् । व्यापारीले अहिले चामल, चिउरा, दाल, माछा–मासु, अन्डा, तरकारी, दाल, चिनी, खानेतेलसम्मको मूल्यमा वृद्धि गरेका हुन् । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीले भाउ बढाएका कारण उपभोक्ताको खुद्रा मूल्य पनि वृद्धि भएको दाबी गरे ।
उनले भने, ‘ठूला व्यापारीले नयाँ मालसामान भित्र्याएको भन्दै नयाँ मूल्यमा खुद्रा व्यापारीलाई खाद्य वस्तु उपलब्ध गराएका छन् । यसका कारण उपभोक्ताको खुद्रा मूल्यमा केही परिमाणमा वृद्धि भएको हो ।’
मूल्य वृद्धिका कारण निम्न आय भएका र दैनिक ज्यालादारीमा काम गर्ने श्रमजीवीको भान्सामा प्रत्यक्षरूपमा प्रभाव पारेको छ । उनका अनुसार २० दिन अघिसम्म प्रतिकिलो ७० मा बिक्री हुने चिनीको प्रतिकिलो मूल्य अहिले ८० पुगेको छ । यसैगरी प्रतिकिलो दुई सय ५० पर्ने रहरको दालको मूल्य अहिले दुई सय ८० पुगेको छ ।
संघका अनुसार दुई सय ४० पर्ने मासको सानो दालको मूल्य वृद्धि भएर अहिले प्रतिकिलो दुई सय ८० रुपैयाँ पुगेको छ । यसैगरी एक सय ९० पर्ने चनाको दालको मूल्य प्रतिकिलो दुई सय १० रुपैयाँमा पुगेको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार बजेटमार्फत सरकारी कर्मचारीको तलबमा वृद्धि गरिएको २५ प्रतिशतका कारण व्यापारीले मौकाको फाइदा उठाउँदै मूल्य वृद्धि गरेका हुन् । ‘बजेट वक्तव्यमार्फत सरकारले कर्मचारी र सांसदको सेवा सुविधा वृद्धि गरेका कारण बजार अराजक बन्दै गएको हो’, अध्यक्ष महर्जनले भने, ‘कर्मचारी र सांसदलाई खुसी बनाउन उनीहरूको सेवा सुविधा वृद्धिसँगै बजारको मूल्य नियन्त्रण गर्न बजार अनुगमन संयन्त्रण बलियो र प्रभावकारी बनाउने कार्यक्रम पनि आउनुपथ्र्यो ।’
उनका अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउन नपाउँदै व्यापारीले कर्मचारीको तलब वृद्धि र सांसदको सुविधा वृद्धिलाई जोडेर आम उपभोक्तालाई मर्ने गरी दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।
व्यापारीले सोना मन्सुलीको प्रतिकिलोमा १०, मोटा चामलमा प्रतिकिलो पाँच, पोखरेली चामलमा प्रतिकिलो पाँच, ताइचिन चिउरामा प्रतिकिलो १५, भुटेको तोरीको तेलको प्रतिलिटरमा १०, सनफ्लावर तेलको प्रतिलिटरमा १०, कुखुराको मासुमा प्रतिकिलो २०, अन्डा प्रतिक्रेटमा ७० रुपैयाँ वृद्धि गरेका छन् ।
यस्तै रातो आलुको प्रतिकिलोमा ३०, सेतो आलुको प्रतिकिलोमा २०, गोलभेंडाको प्रतिकिलोमा २०, काउलीको प्रतिकिलोमा २० र माछाको प्रतिकिलोमा ४० रुपैयाँसम्म वृद्धि भएको छ ।
बजार भाव अकासिरहँदा बजार नियन्त्रण गर्ने जिम्मेवारी लिएको आपूर्ति मन्त्रालय तथा मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने बजार अनुगमन गर्न चासो देखाएको छैन ।
मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बजार मूल्य अकासिएको स्वीकार गर्दै केही दिनमा प्रभावकारी अनुगमन गर्ने आश्वासन मात्रै दिए ।
‘व्यापारीले मिलेमतो गरेर दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको हामीलाई पनि जानकारी आएको छु ,रेग्मीले भने ,‘प्रभावकारी बजार अनुगमन गर्न विभागसम्बद्ध अधिकारीलाई बोलाएर निर्देशन पनि दिइसकेको अवस्था छ । केही दिनमा बजार नियन्त्रणमा आउँछ ।’
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog