बौद्धमा यसरी हुन्छ पासपोर्टको किनबेच
काठमाडौं, २७ जेठ । नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
१२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो । अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पुष्टि भएको विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश न्यौपानेले बताए ।
छेदुपको साथबाट तिब्बती शरणार्थीको परिचयपत्रसमेत बरामद भएको छ । ‘तिब्बतमा रहेकी आमालाई भेट्न जान आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएका छन्,’ न्यौपानेले भने, ‘उनले बौद्धमा सो पासपोर्ट किनेको अनुसन्धानमा देखिएको छ ।’ सोधपुछका क्रममा राम्रोसँग नेपाली बोल्न नसकेपछि अध्यागमन अधिकारीले शंका लागी छेदुपलाई नियन्त्रणमा लिएका थिए । भोजपुर, दोभाने स्थायी ठेगाना राखेर उनले नागरिक बनाएका थिए । सोही नागरिकताका आधारमा उनले पासपोर्ट लिएका थिए । उनको नागरिकताको आधिकारिकताको विषयमा अनुसन्धान भइरहेको निर्देशक न्यौपानेले बताए ।
अदालतमा पाँच हजार रुपैयाँ धरौटी राखेर छुटेका छेन्दुप हाल अध्यागमन विभागकै हिरासतमा छन् । विभागका कर्मचारीले सकेसम्म छिटो उनलाई ‘डिपोर्ट’ गराउने प्रक्रिया थालेका छन्, तर कसले उनलाई नक्कली पासपोर्ट र नागरिकता बनाइदियो भन्ने विषयमा चासो दिएका छैनन् । कतिसम्म भने उनको नागरिकता सक्कली वा नक्कली भन्ने विषयमा समेत अनुसन्धान गरिएको छैन । विभागका निर्देशक न्यौपाने आफूहरूले अध्यागमनसम्बन्धी विषय मात्र हेर्ने भएको बताउँछन् । अन्य विषयमा सरकारी वकिलले हेर्ने उनले जानकारी दिए । नक्कली विवरण राखेर पासपोर्ट बनाउने ठूलै गिरोह पछिल्लो समय सक्रिय भइसकेको छ । यसअघि नेपाली नागरिकता तथा पासपोर्टसहित पक्राउ परेका तिब्बेतियनहरूले पनि बौद्धमा एक व्यक्तिलाई पैसा दिएर नेपाली कागजपत्र बनाइदिएको बताएका थिए । त्यस विषयमा पनि कुनै अनुसन्धान भएको छैन ।
dainiknepal