सुजाताले दिइन खुमबहादुरलाई काउन्टर, सभापति देउवा दबाबमा
काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसमा १३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएको झण्डै तीन महिना वित्न लाग्यो तर, अहिलेसम्म नयाँ कार्यसमितिले पूर्णता पाउन सकेको छैन् ।
सभापतिमा निर्वाचित भएको तीन महिनासम्ममा शेरबहादुर देउवाले खाली रहेका पदमा मनोनयन गर्न सकिरहेका छैनन् । कारण हो पद थोरै छन् आकांक्षी धेरै ।
देउवाले छान्ने भनेको मूख्य पद उपसभापति हो । जसमा खुमबहादुर खड्का प्रवल दाबेदार हुन् भने विमलेन्द्र निधीले पनि इच्छा राखेका छन् । तर, देउवा निधी आफ्नै मान्छे भएकाले उनलाई फकाएर खुमबहादुरलाई नै उपसभापति बनाउने तयारीमा रहेको बताइन्छ ।
देउवाले त्यस्तो तयारी गरिरहेको खबर आइरहेका बेला पूर्व सभापति गिरिजाप्रसाद कोइराला पुत्री तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको उपसभापति पदमा दाबी गरेकी छिन् ।
कांग्रेस नेतृ सुजाताले महिलालाई संविधानले दिएको अधिकार प्राप्त गर्न पार्टीभित्रै संघर्ष गर्नुपर्ने अवस्था आएको बताउँदै सोही कारण आफ्नो पार्टी उपसभापतिमा दाबी रहेको बताइन् ।
शुक्रबार विहान पत्रकार ऋषि धमलासँग वाणि बहसमा कुरा गर्दै सुजाताले आफूले उपसभापति पद नछाड्ने बताइन् । ‘महिलाले अधिकार पाउनुपर्छ । कांग्रेसमा योग्य र सिनियर महिला म नै हो, त्यसकारण मैले उपसभापति पद पाउनुपर्छ,’ उनले भनिन् ।
सभापति देउवाले उपसभापति पद त खुमबहादुर खड्कालाई दिने तयारी गरेको भनिन्छ नी भन्ने प्रश्नमा सुजाताले पार्टीलाई असर नपर्ने गरी पदाधिकारी मनोनयन हुनुपर्ने बताइन् । उनले खुमबहादुरलाई काउन्टर दिँदै भनिन– ‘पार्टीमा कुन व्यक्तिलाई के बनाउँदा जनतामा पार्टीको के असर जान्छ त्यो सभापतिले बुझ्नुपर्छ । हामीले मास बेस पोलिटिक्स गरिरहेका छौं । त्यसमा जनताको भावनालाई बुझ्नुपर्छ ।’
खुमबहादुर ‘भ्रष्टाचारी’ भएको र त्यसको म्यासेज जनतामा नराम्रो जानेतर्फ संकेत गर्दै सुजाताले पार्टीले महिला अधिकार सुनिश्चित गर्न पनि उपसभापति पद महिलालाई दिनुपर्ने स्पष्ट पारिन् ।
भर्खरै जारी भएको संविधानले महिलालाई धेरै अधिकार दिएको बताउँदै पार्टीमा त्यसलाई प्राप्त गर्न आफैं अग्रसर भएको उनले सुनाइन् ।
संविधानले सबै स्थानमा ४० प्रतिशत महिला समावेशीता प्रत्याभूति गरेको उनको भनाइ छ । ‘सबै संगठनमा सभापति पुरुष भएमा उपसभापति महिला हुनुपर्ने अनिवार्य गरिएको छ,’ उनले भनिन् ।
उक्त प्रावधान लागू गर्न कांग्रेसले उदाहरण बन्ने बेला आएको उनले औंल्याइन् । संविधान कार्यान्वयनको कुरा गर्दा राजनीतिक दलहरूले पार्टी संरचनामा पनि त्यसलाई लागू गर्नुपर्नेमा जोड दिइन् ।
सुजाताको दाबीलाई रामचन्द्र पौडेल समूहले समर्थन गर्दै सभापति देउावमाथि दबाब दिइरहेको बताइन्छ । या त सुजातालाई उपसभापति बनाउनुपर्ने नभए विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्नुपर्ने प्रस्ताव पौडेल समूहको छ । तर, यसमा संस्थापन पक्षले असहमति जनाउँदै आएको छ ।
dainiknepal