गुण्डा समूहको आक्रमणमा चार घाइते
असुरक्षित बन्दै जामुनगाछी
विराटनगरः पुरानो रिसिईवी मिलाउन भन्दै बोलाएर गुण्डा समूहले आक्रमण गर्दा विराटनगर ५ जामुनगाछीमा सोमबार साँझ चारजना घाइते भएका छन् ।
खुकुरी र छुरा प्रहार हुँदा विराटनगर ६ का २२ वर्षीय आकाश घिमिरे, विराटनगर ३ बरगाछीका २२ वर्षीय राम नेपाल, २२ वर्षीय लक्ष्मण नेपाल र २० वर्षीय शरद फूयाँल घाइते भएका हुन् ।
उनीहरुको ढाँड लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते सबैको लाइफगार्ड अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते सबै खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । खुकुरी हानाहान हुन थालेपछि आतंकित बनेका स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले विराटनगर ३ का १८ वर्षीय अमन गुरुङ र विराटनगर ५ का २८ वर्षीय केवल बोहोरा लगायत अपराधिक पृष्ठभूमी भएका ८÷१० जनाको समूहले खुकुरी र छुरा प्रहार गरेको बताए ।
गुरुङ र बोहोरालाई पक्राउ गरिए पनि घटनामा संलग्न रहेका अन्य युवा फरार छन् । फरारको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘पुरानो रिसिईवी मिलाउन भन्दै बोलाएर आक्रमण गरिएको रहेछ,’ डिएसपी थापाले भने, ‘पुरानो रिसिईवीलाई लिएर थप विवाद भएको र त्यही विवाद उग्र बन्दै गएपछि एउटा समूहले धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेको पाइयो ।’
प्रहरीका अनुसार रिसिईवीका कारण दुई युवा समूहबीच पटक पटक झडप हुँदै आएको थियो । डिएसपी थापाले भने, ‘पुरानो रिसिईवी र दुई समूहबीचको पटक पटकको झडप तथा मनमुटावको परिणामका रुपमा प्रहरीले यो घटनालाई लिएको छ ।’
उनका अनुसार उनीहरुबीचमा कस्तो खालको रिसिईवी थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा तत्काल नै प्रहरी पुगेका कारण ठूलो क्षति भने हुन नपाएको उनले बताए ।
घाइते मध्येका राम नेपालले भने, ‘एउटै ठाउँमा बसोबास गरेर रिसिईवी राख्न नहुने भन्दै मिलेर अघि बढ्नु पर्छ भनेर बोलाइयो । त्यहाँ पुग्दा एक्कासि आक्रमण भयो ।’ उनका अनुसार सामान्य विषयमा केही पहिलेदेखि रिसिईवी थियो ।
घटनालाई कांग्रेसको तरुण दल र एमालेको युथ फोर्सबीचको झडप भनेर बाहिर ल्याइएको भन्दै आपत्ती जनाइएको छ । ‘युवाहरुको आन्तरिक विवादबाट भएको घटनालाई लिएर दलका मातृ संगठनको नाम जोडिनु आपत्तीजनक छ,’ युथ फोर्स मोरङका प्रमुख पर्वतराज निरौलाले भने, ‘घटनामा संलग्न कोही पनि राजनीतिक दलका भातृ संगठनमा आवद्ध छैनन् ।’
निरौलाले समाजमा हुने यस्ता अपराधिक घटना नियन्त्रण गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने काम भइरहेको बताए ।
स्थानीय बासिन्दाले विराटनगर ५ र ६ मा पर्ने जामुनगाछी सुरक्षाका दृष्टिले अतिनै संवेदनशील बन्दै गएको गुनासो गरेका छन् । आफ्नो बर्चश्व जमाउन खोज्ने गुण्डा समूहबीच बेलाबेलामा झगडा र लफडा हुँदा ठूलै समस्या आइपर्ने गरेको स्थानीयको भनाइ छ ।
‘दैनिक जसो हुने झगडा र लफडा नियन्त्रणमा प्रहरीले चासो नदिँदा र सुरक्षा प्रदान गर्न नसक्दा यहाँ प्राय घटनाहरु भइरहेका हुन्छन्,’ एक स्थानीयले भने । लागूऔषध प्रयोगकर्ता र गुण्डा समूहले झैझगडा गर्ने स्थलका रुपमा जामुनगाछीलाई प्रयोग गर्दा सुरक्षा संवेदनशीलता बढेको प्रहरीको ठम्याई छ ।
यस अघि पनि पटक पटक जामुनगाछीमा लागूऔषध प्रयोगकर्ता र गुण्डा समूहबीच दोहोरो झडप हुँदै आएको थियो । लागूऔषध तथा मदिरा सेवन गरेर गुण्डा समूहले आतंक सिर्जना गर्दा पनि प्रहरीले घटनामा संलग्नलाई कारवाहीका लागि चासो नदिएको गुनासो स्थानीयको छ ।
स्कुल, मठ मन्दिर लगायतका सार्वजनिक स्थलमा आक्रमण गर्ने र व्यक्तिका घरमा ढुँगामुढा गर्ने सम्मका गतिविधी हुने गरेका छन् । तर, प्रहरीले घटनामा संलगन कसैलाई पनि कारवाही भने अघि बढाएको छैन् ।
‘प्रहरीले राम्ररी सुरक्षा प्रदान गर्न सकेको भए यस्तो घटनानै हुने थिएन,’ एक स्थानीयले भने, ‘शान्ति सुरक्षा प्रदान गर्ने सवालमा प्रहरीले चासो दिइरहेको छैन ।’ डीएसपी थापाले जामुनगाछीमा हुने गरेको गुण्डा आतंक नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको बताए ।
उनले समाजलाई आतंकित पार्ने हिसावले हुने गरेका गुण्डा गर्दी नियन्त्रणमा प्रहरीले कुनै पनि कसूर बाँकी नराख्ने बताए ।
annapurnapost