संसदीय टोली टिचिङमा, दवाब र प्रभावमा नपर्न डाक्टरलाई सचेत गरायो
फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिई फर्कँदै सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति र सदस्यहरु ।
काठमाडौं, १४ जेठ । सांसदहरुको एक टोलीले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको शव पोष्टमार्टममा संलग्न चिकित्सकहरुलाई तथ्यपूर्ण रिपोर्ट सार्बजनिक गर्न आग्रह गरेको छ ।
संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सांसदहरु शुक्रबार अपरान्ह मनिषाको शव राखिएको शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हत्या वा आत्महत्या सम्बन्धमा कसैको दवाबमा नपरी तथ्य वाहिर ल्याउन चिकित्सकको टोलीसँग आग्रह गरेका हुन् ।
पोष्टमार्टममा संलग्न हुने चिकित्सकहरुले आफूहरुले कसैको दवाब र प्रभावमा परेर गलत रिपोर्ट नबनाउने बताए । उनीहरुले स्थानीय प्रहरीबाट मुचुल्का मगाइ समिति नै गठन घटनास्थलको बारेमा बुझी मृत्युबारे वास्तविकता बाहिर ल्याउनेमा विश्वस्त हुन संसदीय समितिसमक्ष आग्रह गरेका थिए ।
चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्ट आउन अझै दुई दिन लाग्ने छ ।
संसदीय समितिको टोलीले बिमल र उनकी आमालाई भेटेर सान्त्वना समेत दिएको छ । मनिषा बुधबार राति मृत फेला परेकी थिइन् ।
dainiknepal