अन्ततः पक्राउ परे हत्याका मूख्य नाइके
काठमाडौं, १४ जेठ । हत्यामा संलग्न अभियुक्त नुवाकोट साल्मे-५ बस्ने २८ वर्षीय कामी लामा तामाङलाई महानगरीय अपराध महाशाखाले बिहिबार पक्राउ गरेको छ ।
काठमाडौं तार्केश्वर नगरपालिका–९ पृथ्वीटोलस्थित कमेरे खोला किनारमा गोरखा छेपेटार घर बताउने करीव ४८ वर्षीय श्यामबहादुर मगरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा गत बैशाख १० गते शव फेला परेको घटनाको अनुसन्धानको क्रममा निज कामीसमेत हत्यामा संलग्न भएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त कामी बैशाख ७ गते नुवाकोटबाट काठमाडौं आई विषमान भन्ने सेतेरोङ तामाङको कोठामा बसेको, ८ गते मृतकसँगै काम गरेको, ९ गते बेलुका कामी, विषमान, कृष्णबहादुर वि.क, विषमानको सालो पछुवा तामाङ र मृतक ५ जना बसेर मदिरा सेवन गरेपछि विषमान र मृतकबीचमा काम गरेको ज्यालाको विषयमा विवाद भएको खुल्न आएको छ ।
मृतकले ज्याला लिई बाहिर निस्केपछि अन्य ४ जनाले हत्या गर्ने उद्देश्यले मृतकको पिछा गर्दै उक्त कमेरे खोलाको डिलमा पुगेपछि कुटपिट गरी खोला किनारमा लडाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
घटना पश्चात् उनीहरु चारैजना फरार रहेकोमा कृष्ण विकलाई बैशाख २९ गते पक्राउ गरिएको थियो ।
पक्राउ परेका कामीलाई आवश्यक कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको छ । साथै अन्य अभियुक्तहरुको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ ।
dainiknepal