भवन नहुँदा प्रहरीलाई समस्या, विद्युत अभावमा सञ्चार सेट चलेन
रामपुर, १६ जेठ । रतनपुर गाविसको रामपुरमा रहेको सीमा प्रहरी चौकीको भवन नहुँदा प्रहरीलाई समस्या भएको छ ।
तत्कालिन माओवादीले रामपुरमा रहेको प्रहरी चौकीमा बम विष्फोट गराई ध्वस्त बनाएका थिए । शान्तिप्रक्रियासंगै विस्थापित प्रहरी कार्यालय पुनस्र्थापना भएपनि ध्वस्त संरचनाहरु नबनेपछि प्रहरीलाई बस्न समस्या हुने गरेको छ ।
सीमा प्रहरी चौकीको रुपमा स्थापना गरिएको रामपुर चौकीमा हाल १० जना प्रहरी कार्यरत रहेका छन् । पक्की भवन बम विष्फोटबाट ध्वस्त भएपछि स्थानीयको सहयोगमा नेपाल प्रहरीले खरको भित्तो बनाएर एक अस्थाई घर बनाएका छन् । करिब १० बाई २० को एउटा टहरोमा सीमा प्रहरीले काम चलाईरहको छ । एक प्रहरी नायव निरिक्षक सहित १० जना प्रहरी बस्दै आएकाछन् । उक्त टहरोको बसाई प्रहरीको निकै कष्टकर रहेको छ ।
सीमा क्षेत्रमा हुने अबैध गतिविधि रोक्न र स्थानीय जनतालई शान्तिसुरक्षा दिने उद्देश्यले सो क्षेत्रमा बस्दै आएका प्रहरीको बसाई निकै कष्टपूर्ण रहेको छ । वर्षातको शुरुवातसंगै सो चौकीमा बस्ने प्रहरीहरु चिन्तित हुने गरेकाछन् । टहरोको भित्तो पनि गतिलो छैन र छानोपनि पानी बाहिर जानेजस्तो छैन कसरी वर्षायाम काट्ने हो भन्ने पीरमा प्रहरी रहेकाछन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि जनताको सेवा गर्ने सपथ खाएका नेपाल प्रहरीले जनताको सेवा गर्ने काममा कुनै सम्झौता नगर्ने चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक डबल विष्टले बताउनुभयो । भौतिक सुविधाबाट हामी बञ्चीत भएपनि जनताको सेवा सधैं हाजिर छौं विष्टले भन्नुभयो ।
गत भदौमा टीकापुर घटनापछि जिल्लामा फर्किएको प्रहरी चौकी गत चैतको अन्तिम साता रामपुरमा पुगेको छ । भत्किएका भित्ताहरु मर्मत गरेर प्रहरी हाल जसोतसो बसिरहेको छ । प्रहरी चौकीमा विद्युत नहुँदा अन्धकारमा बस्नुपरेको छ । गत केही समय अघि विद्युतको तार रामपुरसम्म तानेपनि तारमा भोल्टेज नभएकाले बत्ति बल्दैन । चौकीमा बल्ब त राखिएको छ तर यो सो पीस जस्तै भएको छ –प्रनानी विष्टले भन्नुभयो । वर्षातको समय छ तराईको ठाउँ हो साप किराको डर त्यत्तिकै छ जोखिम मोलेर ड्यूटी गर्नुपरेको प्रहरी जवान हिक्मत कुँवरले बताउनुभयो । चौकी वरीपरी जंगल छ जंगलबाट विशालु सर्पहरु आउँछन यस्तो अवस्थामा उज्यालोको कुनै ब्यवस्था छैन –कुँवरले भन्नुभयो ।
विद्युत अभावमा प्रहरीको सञ्चार सेट ओकेटोके समेत चार्ज हुनसक्दैन । प्रहरीले जिल्लामा गर्नुपर्ने रिर्पोटिंग पनि ब्याट्री चार्ज गर्न नपाउँदा समस्या हुने गरेको छ । प्रहरी हवल्दार रामबहादुर चौधरीका अनुसार ओकेटोकेको ब्याट्री नहुँदा जिल्लाको खवरमात्र पाउँछौं आफ्नो खबर भन्न पाउँदैनौं । मोवाइल चार्जका लागि भन्दै एउटा सानो सोलार चौकीको आगनमा राखिएको छ । उक्त सोलारले पनि मोवाइल र सेटको ब्याट्री चार्ज गर्न सकेको छैन । विद्युतको तार पुगेपनि भोल्टेज नभएका कारण इन्भटर चार्ज गर्न नसक्ने भएकाले उक्त चौकीका लागि करिब ३ सय भोल्टेजको सोलार सिस्टम राखेमा बत्ति र मोवाईल चार्जकालागि सहयोग पुग्ने छ ।
अत्यन्त दयनीय अवस्थामा बसेको सीमा प्रहरी चौकीको भवन निर्माणकालागि सरोकारवाला निकायको ध्यान जानुपर्ने स्थानीय बासिन्दा डण्डीराम डगौराले बताउनुभयो । प्रहरीको उच्च मनोवल राखेर काम लगाएमा राम्रो परिणाम आउँछ भन्ने कुरा नीतिनिर्माण तहमाबसेकाहरुले बुझ्न जरुरी रहेको उहाँको भनाई छ । जाहाँ भवन आवश्यकता छ त्यस्तो ठाउँमा निर्माण गर्नुपर्नेमा सजिलोकालागि आवश्यक नभएको स्थानमा पनि भवन निर्माणको काम हुन गरेको स्थानीयहरुको गुनासो छ । शान्तिमन्त्रालयले पनि भवन निर्माणको काम गर्ने गरेकाले रामपुर प्रहरी चौकीको भवन निर्माणकालागि सहयोग गर्नुपर्ने अर्का स्थानीय बासिन्दा राजकुमार चौधरीले बताउनुभयो ।
तर, रामपुर लगायतका ध्वस्त प्रहरी चौकी निर्माणकालागि केन्द्रमा लेखि पठाएको कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
dainiknepal