बाबुरामको नयाँ शक्ति नेपाल पार्टी घोषणामा प्रचण्ड नजाने, ओली र देउवा तयार
काठमाडौं, ३० जेठ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको घोषणा समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार बाबुरामले प्रचण्डलाई निमन्त्रणा पठाएपनि उनी उपत्यका बाहिर रहेकाले पार्टी घोषणा सभामा सहभागी नहुने भएका हुन् ।
यसअघि शनिबार पत्रकार सम्मेलन गरी बाबुरामले प्रचण्डजी आउनुहुन्छ भन्ने अपेक्षा लिएको छु भनेका थिए ।
प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले अध्यक्ष प्रचण्ड बर्दियामा रहेको र आज दिनभर पार्टीकै कार्यक्रममा उतै व्यस्त रहने जानकारी दिए ।
‘उहाँ (प्रचण्ड)ले बर्दियाको सूर्यपटुवामा निर्माण भएको सहिद देवप्रसाद चौधरीको शालिक अनावरण गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो ३ बजे नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रशिक्षण दिनुहुनेछ । उहाँ आज फर्किने टुंगो लागेको छैन् ।’
गत वर्षको असोज ९ गते प्रचण्डलाई छाडेर माओवादी परित्याग गरी बाबुरामले नयाँ शक्ति अभियानको शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री ओली र देउवा तयार
बाबुरामले आइतबार दशरथ रंगशालामा गर्न लागेको नयाँ शक्ति नेपाल पार्टी घोषणा समारोहमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य दलका नेताहरु भने सहभागी हुनेछन् । प्रधानमन्त्री ओली दिउँसो ३ बजेपछि घोषणा सभामा जाने उनको निजी सचिवालयले जनाएको छ ।
dainiknepal