एमालेको बेथितिविरुद्ध नेपाल–खनाल अभियान
काठमाडौं: संस्थापन पक्षले पार्टीमा एकलौटी गरेको र गुट चलाएको आरोप लगाउँदै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले त्यसविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । नेपाल–खनाल पक्षको बुधबार राजधानीमा सम्पन्न दुईदिने भेलाले यस्तो निर्णय गरेको हो ।
मदन भण्डारी अध्ययन केन्द्रको ब्यानरमा आयोजना हुने यस्तो अभियानलाई पहिला सातवटा प्रदेशमा र पछि सबै जिल्लामा सञ्चालन गर्ने घोषणा गरिएको छ । नेपाल–खनाल समूहका नेताहरूले यसबाट पार्टीमा गुटबन्दी अन्त्य गरी एकताबद्ध हुने दाबी गरेका छन् । ‘हामी यस्तो कार्यशाला नयाँ संविधानअनुसार सातैवटा प्रदेशमा सञ्चालन गर्नेछौं । तिनबाट आएका सुझावसमेत लिएर तीन महिनाभित्र जिल्ला जिल्लामा सञ्चालन गर्छौं,’ अध्ययन केन्द्रका अध्यक्ष योगेश भट्टराईले भने ।
उनले धेरै जिल्लाबाट मदन भण्डारी अध्ययन केन्द्र गठनका लागि प्रस्ताव आएकाले केन्द्रसँग परामर्श गरी सबै जिल्लामा केन्द्र खोल्नसमेत भेलाका सहभागीलाई निर्देशन दिए । अभियानले एमालेलाई एकताबद्ध र बलियो बनाएर अगाडि लैजाने उनले बताए । भेलामा देशभरिका करिब चार सय सहभागी थिए । उनीहरुले यस अभियानलाई देशभरि लैजानसमेत माग गरेका थिए ।
भेला समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भेलाले अपांग भएको शरीरलाई फिजियोथेरापी दिएर तरंग पैदा गरेजस्तो गुटबन्दी र बेथितिले अपांग भएको पार्टीमा नयाँ तरंग दिएको बताए । नेपालले पार्टीभित्र महाधिवेशनका बेलामा मतदान गरेका आधारमा भेदभाव भएको, जिम्मेवारीमा दोहोरो मापदण्ड अपनाइएको र जिल्ला तहमा गुटबन्दी गरिएको आरोप लगाए ।
‘यही तरिकाले पार्टी चलाए एमाले संकटमा फस्छ, एमाले संकटमा फस्नु भनेको राष्ट्र संकटमा फस्नु हो,’ नेपालले भने, ‘केन्द्रीय कमिटीको बैठक बसेजस्तो हुन्छ, पोलिटब्युरोको बैठक बसेजस्तो हुन्छ, स्थायी कमिटीको बैठक बसेजस्तो हुन्छ, बैठकमा कसैले बोल्न आँट गरे वक्रदृष्टि र कोपभजनको सिकार बन्नुपर्छ । उसलाई जोगाउन लडामान गर्नुपर्छ, म आफैंलाई मनको बह कता पोखूँ जस्तो लाग्छ ।’
आफूहरूले कुनै गुटबन्दी नगरेको दाबी गर्दै नेपालले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर लैजानुबाहेक हामीलाई अरू केही चाहिएको छैन । पार्टीमा विधिसम्मत काम हुनुपर्यो । मापदण्डअनुसार जिम्मेवारी दिनुपर्यो, तेरो र मेरो नगरिदिए पुग्छ ।’ पहिला गुट चलाउन जानेकाहरूले अहिले पार्टी चलाउन नजानेको र पहिला पार्टी चलाएकाहरू यसबेला गुटको सिकार भएर चाउरिएको पनि नेपालले बताए । पहिला आफूहरू जस्तोसुकै बेथिति भए पनि नबोलेको भन्दै उनले अब भने चुप लागेर नबस्ने बताए । ‘जो पार्टीको बहुमत छ, उसैले गाउँगाउँमा गुट चलाएको छ, अब हामी चुप लागेर बस्दैनौं, विकृति र बेथितिविरुद्ध संघर्ष गर्छौं,’ उनले भने ।
भेलाले विभिन्न ६ वटा प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावमा संविधान कार्यान्वयमा सबैलाई एकजुट बनाएर अगाडि बढ्न आग्रह गरिएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई नेताहरूले नियन्त्रण गर्दा संस्थागत जीवन कमजोर हुने भएको र गुटबन्दीको सिकार हुँदै जाने भएकाले पार्टीमा आन्तरिक लोकतन्त्र र संस्थागत जीवन कमजोर हुन नदिन राजनीतिक पार्टी र तिनका नेताहरूलाई पनि प्रस्तावमा आग्रह गरिएको छ ।
नयाँ संविधानलाई स्वागत र सम्मान गर्ने अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै भेलाले यो ऐतिहासिक कदमलाई बिनासर्त सम्मान गर्न भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
गौतम पक्ष पनि असन्तुष्ट
केही समयदेखि अध्यक्ष ओलीसँग असन्तुष्ट भएका उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल–खनाल पक्षको भेलामा सहभागी थिए । कुनै बेला गौतमलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् । गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
यसअघि नेपाल–खनाल पक्षको कुनै पनि समूह भेलामा सहभागी नभएका गौतम पक्षीय केही नेता मंगलबार र बुधबारको भेलामा सहभागी थिए । यसरी सहभागी हुने गौतम पक्षीय नेतामा केशवलाल श्रेष्ठ, उदयराज पाण्डे, उमा कोइराला, बाबुराम थापा, लक्ष्मण ज्ञवाली, शिव गुरुङलगायत थिए ।
annapurnapost