सर्वाेच्चको फन्दामा प्रचण्ड, तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश
काठमाडौं, ११ जेठ । सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
अदालतको अवहेलना सम्बन्धि परको मुद्दामा मंगलबार कायममुकाय प्रधानन्यायाधीश सुशीला श्रेष्ठको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित तीन दिनभित्र उपस्थित हुन आदेश दिएको अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दर्ता गराएका थिए ।
वैशाख ३१ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘अदालतले शान्ति सम्झौता विपरित काम गरेको र दिउँसै रात पार्न खोजेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।
अदालतको अवहेलना तथा मानहानी मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
dainiknepal