जाली अमेरिकी डलर र जाली भारतीय रुपैयाँसहित पक्राउ
काठमाडौं, ११ जेठ । प्रहरी प्रधान कार्यालय, बिशेष व्यूरोको बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पाकिस्तानी नागरिक सामा नाजलाई जेठ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गोल्डेनगेट सिनामंगलबाट जाली अमेरिकी डलर १९ हजार ५ सय र जाली भारतीय रुपैयाँ ३६ लाख सहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सामा नाज कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाडौँ आएको खुल्न आएको छ ।
सुटकेशमा फल्सबटम बनाई तथा विभिन्न खाद्य सामाग्रीका प्याकेटहरुभित्र जाली मुद्रा प्याकिङ गरी हवाईमार्गबाट काठमाडौँ ल्याउने गरेको, जाली मुद्रा काठमाडौँमा रिसिभ गरी स्थानिय वितरकलाई बितरण गर्ने गरेको, जाली मुद्रा काठमाडौँ लगायतका बजारमा पुर्याउने गरेको, जाली मुद्रा पठाउने व्यक्तिलाई हुण्डीमार्फत रकम भुक्तान गर्ने गरेको तथा बरामद जाली डलर नेपालमा पहिलो पटक बरामद भएको महानगरीय प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको टोलीले जाली भारतीय रुपैयाँलाई सक्कली भनी सटही गरिरहेको अवस्थामा ३ लाख ३२ हजार ५ सय सहित २ जनालाई महाराजगंज क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय, बिशेष व्यूरोको थप सूचनाको आधारमा सो कारोबारमा संलग्न थप ५ जनालाई समेत १६ लाख ५४ हजार ५ सय जाली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा जिरी–७ घर भई हाल धुम्बाराही बस्ने मीरा जिरेल, बुढानिलकण्ठ नगरपालिका–१ कपन बस्ने सुमन मल्ल, सप्तरी मलहनमा–९ घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, भारत जमोई सिमुलतल्ला थाना तेल्वाबजार घर भई सिरहा–७ मैसोथा बस्ने अरुण, जेसेफ, युसुफ खान, राजु, विजय गुप्ता भनी बताउने बैजनाथ गुप्ता, बुटवल–३ कालिकानगर रुपन्देही घर भई गोंगबु बस्ने विजयराज शर्मा, जुहाङ–५ गुल्मी घर भई टोखा नगरपालिका–१४ महादेवटार बस्ने सनद प्रधान र सिलगढी–२ डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका बैजनाथ गुप्ता लागूऔषध मुद्धामा २०५२ सालदेखि २०६७ सालसम्म केन्द्रीय कारागारमा थुनामा रहेको र बिजय शर्मा लागूऔषध मुद्धामा २०५८ सालदेखि २०६७ सालसम्म नख्खु कारागारमा थुनामा रहेको खुल्न आएको छ ।
dainiknepal