काठमाडौंमा आन्दोलन छाडेर उपेन्द्र यादव किन सुटुक्क मधेस छिरे ?
काठमाडौं, ११ जेठ । संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन गरिराख्दा गठबन्धनका संयोजक उपेन्द्र यादव भने पार्टी प्रवेश कार्यक्रमको लागि जिल्ला छिरेका छन् ।
आज (मंगलबार) भक्तपुरमा संघीय गठबन्धनको कार्यक्रममा अनुपस्थित भएपछि गठबन्धनमा उनका सहयोगी रहेका नेताहरूले नै आलोचना गरेका छन् ।
काठमाडौंमा संघीय गठबन्धनको आन्दोलनमा कार्यकर्ता र समर्थकहरूको उपस्थिति दिनैदिन कम हुंदै गएपछि आन्दोलनलाई निरन्तरता दिन निकै गाह्रो भईरहेको बेला गठबन्धनका संयोजक उपेन्द्र यादव आन्दोलन छोडी पार्टी प्रवेश कार्यक्रमको लागि जिल्ला जांदा गठबन्धनका नेताहरू जिल्ल परेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादव आज कपिलवस्तु जिल्लामा पार्टी प्रवेश गराई रहेका छन् ।
स्रोतका अनुसार संघीय गठबन्धनमा आफ्ना सहयात्री दल नेपाल सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष रामबरण यादव र केन्द्रीय सदस्य बृजगोपाल गुप्तालाई पार्टीमा प्रवेश गराउंदै छन् । यी दुबै नेता अनिल कुमार झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीका हुन् । अहिले पार्टी प्रवेशको कार्यक्रम कपिलवस्तुको तौलिहवामा भई रहेको छ ।
आफ्नै पार्टीका पदाधिकारीहरूलाई फोडेर पार्टी प्रवेश गराउन लागेको समाचार आउने बित्तिकै भक्तपुरमा संघीय गठबन्धनको आन्दोलनमा सहभागी हुन आउंदै गरेका नेसपाका अध्यक्ष अनिल झाबीच बाटोबाटै फर्किएका थिए । मधेशी मोर्चामा आबद्ध रहे पनि अनिल कुमार झा गठबन्धनको सबै कार्यक्रममा सहभागी हुंदै उपेन्द्र यादवलाई सघाई रहेका थिए । तर, आज उपेन्द्र यादवले नै आफ्ना पदाधिकारीलाई आफ्नो पार्टीमा भित्र्याएपछि उनी यादव र संघीय गठबन्धनदेखि बिच्किएका छन् ।
dainiknepal