Tuesday, May 24, 2016

पैसा कमाउने सपना बोकेर विदेश पलायन हुँदै युवा

बर्दिवास: गाउँमा रोजगारीको सम्भावना नदेखेपछि जिल्लाका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ।

गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न आन्दोलनका कारण युवा बिदेसिने क्रम ह्वात्तै बढेको हो। युवा विदेशिन थालेपछि गाउँका बस्ती युवाविहीन भएका छन्। गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न बिदेसिनु परेको उनीहरुको भनाइ छ।

भङ्गाहा-३ पलारका ३० वर्षीय रामदयाल बाँतर साहुसँग चर्को ब्याजमा ऋण काढेर कतार गएका छन्। बिरामी बुबाको हेरचार गरी परिवारसँग बसेर काम गर्ने सोच बनाएका सोही बस्तीका मकबुल राइन पनि साउदी अरब पुगेका छन्। 23

साहुले ऋण पत्याएका युवा खाडी मुलुक तथा अन्य युवा भारतका विभिन्न सहर जाने क्रम बढ्दै गएको छ। यी उदाहरण भङ्गाहा गाविसको एउटा बस्तीको भए पनि यसले जिल्लाकै सबैजसो गाउँबस्तीको प्रतिनिधित्व गर्ने सीतापुरका सञ्जीवकुमार साहले बताए।

गाउँमा युवा नहुँदा आपत् विपत्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको साहको भनाइ छ।’गाउँमा सानोतिनो काम अराउन युवा भेटिन्नन्, मर्दापर्दा त झनै सकस पर्छ,” उनले भने। जिल्लाको भ्रमरपुरा गाविस त साउदी अरबकै नामले चिनिन थालेको छ। यहाँका अधिकांश युवा साउदी अरब पुगेका छन्।

जिल्लाको दक्षिणी क्षेत्रका गाउँमा परिवारको भरणपोषणको मुख्य स्रोत नै वैदेशिक रोजगार बनेको भटौलिया गाविसका जामुन मण्डल बताउनुहुन्छ। युवा पुस्ता भारत र अरब लाग्दा सामाजिक र सांस्कृतिक महत्वका चाडपर्व निरस हुँदै गएको उनको भनाइ छ। अचेल गाउँमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पुर्याइदिने र मर्दा घाट पुर्याउने मान्छेको अभाव हुन थालेको छ।

युवा पुस्ता विदेश पलायन हुँदा खेतीपातीको काम निकै प्रभावित भएको छ। कृषि मजदुर नपाउँदा बाली लगाउन नपाएकाले धेरैजसो जग्गा बाँझो रहेको छ। विदेश पलायन रोक्न नसके चाँडै जिल्लाको लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने किसानको चिन्ता छ।

जिल्लाबाट अरब राष्ट्रबाहेक भारतमा जानेको सङ्ख्या ४० हजार नाघेको रोजगार प्रवद्र्धन क्षेत्रमा कार्यरत सङ्घसंस्थाले जनाएका छन्। जिल्लाबाट राहदानी बनाएर बिदेसिनेको सङ्ख्या करिब एक लाख ५० हजार बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। रासस
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog