दिनभरी सदन अवरुद्ध पारेपछि देउवालाई भेटेर ओलीले दिए कडा जवाफ
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आजदेखि व्यवस्थापिका संसदमा सुरु गरिएको बजेटमाथिको छलफल बैठकलाई कांग्रेसले दिनभरी लगाएर लगातार चार पटकसम्म अवरुद्ध गरेपछि प्रम ओलीले सभापति देउवालाई भेटेर स्पष्ट जवाफ दिएका हुन् ।
बजेटको सूचना चुहिएको भन्दै छानविन हुनुपर्ने माग राख्दै कांग्रेसले आज दिनभरीमा चार पटकसम्म संसद बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधका कारण आज बजेटमाथि छलफल नै हुन सकेन् ।
स्रोतका अनुसार भेटवार्तामा देउवाले संसदमा कांग्रेसले राखेको अडान दोहोर्याएका थिए ।
जवाफमा ओलीले बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेको भन्दै छानविन समिति नबन्ने स्पष्ट जवाफ फर्काए । उनले विगतका सरकारका पालमा सामान्य सूचना बाहिरै आएको स्मरण गर्दै यसपटक त्यति धेरै सूचना बाहिर नगएको समेत स्पष्ट पारेका थिए ।
संसद अवरुद्ध गरे कांग्रेसलाई नै घाटा हुने भन्दै प्रम ओलीले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।
त्यसपछि कड्किएर बोलेका देउवाले संसद चल्न नदिने चेतावनी दिएका थिए । ‘दुबै नेताबीच सहमति केही भएन्, छलफल पछि प्रम जानुभो’ स्रोतले भन्यो ।
dainiknepal