सरकार फेर्ने कसरत नम्बर २
२२ वैशाख वैशाखमा जब तत्कालीन एमाओवादीले गरेको आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णयलाई धेरैले अस्वभाविक ठाने । कांग्रेसको समर्थन पाएको भन्दै एमाले नेतृत्वको वर्तमान सरकारमा सामेल भएर पनि माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने निर्णय पदाधिकारी बैठकले गरेपछि राजनीतिक माहोल एकाएक तात्यो ।
ओलीलाई प्रचण्डले सोधे- “तपाइँ र मबीच सहमति भएको हो कि होइन ?”
तर, सोही दिन बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा एमाले नेता माधव, वामदेव गौतम, झलनाथ खनालसहितले सरकार ढाल्नुभन्दा बरु विकल्प खोज्न सुझाए । त्यतिखेरसम्म चीनसहितका शक्ति केन्द्रले ओली सरकार तत्काल ढाल्न नहुने भन्दै बरु सहमति गरेर अघि बढ्न प्रचण्डलाई सुझाएका थिए । प्रधानमन्त्री केपी ओली स्वयंमले पनि सरकार ढाल्नेभन्दा बरु वामपन्थी मिलेर जानुपर्ने र बजेटपछि आफू छोड्न तयार रहेको भन्दै प्रचण्डलाई सम्झाए । भावुक प्रचण्डलाई सम्झाउँन धेरैबेर पनि लागेन । किनकी चीनतिरबाट कम्युनिष्ट नेताहरुलाई निर्देशन आइसकेको थियो । र, ओलीले पनि आफू बजेटभन्दा पछि प्रधानमन्त्री भइरहने सोच नभएको प्रष्टै बताइदिएर, बजेटपछि अर्को सरकारको लागि मार्ग प्रशस्त गर्ने बताइदिए ।
दुई कम्युनिष्टबीच यस्तो समझदारी भएपछि सात बुँदे सहमति बोकेर प्रचण्ड निवास पुगेका देउवा, विमलेन्द्र निधि र रमेश लेखक अचम्ममा परे । किनकी आफ्नो प्रस्तावमा प्रधानमन्त्री बन्न तयार रहेका प्रचण्डले बोली फेरिसकेका थिए ।
तातियो राजनीतिक माहौलः प्रचण्डले बोलाए कार्यदलको बैठक
प्रचण्डले अहिले आफू अघि नबढ्ने बताएपछि ओली सरकार थामियो । र, एकाएक माथि पुगेको राजनीतिक सरगर्मीको पारो एकाएक तल झर्यो । यसको कारण देखाउँने ९ बुँदे सहमति र नदेखाउँने तीन बुँदे भित्री भद्र सहमति थियो ।
सरकार फेर्नका लागि गरिएको त्यो कसरतको एक महिला बित्न लागेको छ । र, हतारहतार गरेर बजेट पनि ल्याइसकिएको छ । त्यसैले अब नेकपा माओवादी केन्द्र भइसकेपछि यो दल ढिलोचाँडो सरकार फेर्ने कसरतमा लाग्ने स्रोत बताउँछ ।
अब यसरी फेर्न खोजिंदैछ सरकार
भद्र सहमति माने एमालेसँगै मिलेर नयाँ सरकार गठन गर्ने नभए भड्किएको कांग्रेसलाई विश्वासमा लिएर सरकार फेर्ने कसरतमा माओवादी लाग्ने पक्कापक्की भइसकेको छ । यसका लागि माओवादी निकट भएर काम गर्ने शक्ति केन्द्रदेखि उसका पहुँचवाला हितैशीहरुले आफ्नो ठाउँबाट दबाब दिन थालिसकेका छन् । यसका लागि माओवादी आफ्नो सबै सूत्र र शक्ति यसतर्फ लगाइसकेको छ । किनकी अब हतारहतार गरी कम्युनिष्ट भाषामा लोकप्रिय बजेट पनि आइसकेको छ । किनकी लोकप्रिय बजेटलाई प्रधानमन्त्री ओलीले आफ्नो प्रतिष्ठासँग जोडेका थिए ।
अर्कोतर्फ र, संविधान कार्यान्वयनका लागि मधेसी दललाई मनाउन सरकार फेर्दा सहज र सजिलो हुने बुझाईमा माओवादी छ । किनकी ४ फागुनदेखि मधेस केन्द्रित दलसँग सरकारले वार्ता गर्न सकेको छैन । मधेसी दलहरु ओली सरकार रहेसम्म केही हुनै नसक्ने भन्दै घुमाउरो पाराले उनी हट्नुपर्ने माग र दबाबमा छन् । ढिलोचाँडो अबको कोर्ष पनि त्यतातिरै नै हो ।
एमालेसँग बहुमत छैन, फुर्ति गर्न जरुरी छैन- माधव नेपाल
अन्तिम समयमा आएर प्रचण्डले बोली फेरेपछि कांग्रेस बिच्किएको छ । तर, पनि माओवादी र एमालेबीच असन्तुष्टी हुने वित्तिकै कांग्रेसले त्यो रिस बिर्सेर प्रचण्डलाई फेरि मनाउने र फकाउँने अवस्था छ । यसका लागि कांग्रेसका नेताहरुले भित्रभित्रै तयारी गरिसकेका छन् । यस काममा सरकार फेर्न यस अघिदेखि नै इच्छा देखाइसकेका कृष्णबहादुर महरा, वर्षमान पुनले पनि सघाइरहेको बुझिएको छ ।
सरकार फेर्ने असफल प्रयत्न गरेर विवादित बनेका देउवालाई पुराना कुरा बिर्सेर अब सफल हुने गरी सरकार फेरेर देखाउँने चुनौति थपिएको छ । त्यसैले उनी कुनबाटोबाट हुन्छ अब पनि सफल हुने गरी सरकार फेर्ने तयारीमा लाग्नेछन् । यसका लागि दुई वा तीन महिना लागे पनि देउवाले यसपटक हतार नगरी सुझबुझपूर्णरुपमा अघि बढ्दैछन् ।
राजनीतिक विश्लेषक कपिल श्रेष्ठ अहिलेको सरकार काम गर्ने नभई सत्तामा मात्रै टिक्ने स्वरुपको भएकोले ढिलोचाँडो हट्नुको विकल्प नै नभएको बताउँछन् । ‘कांग्रेसबाट देउवाको निर्णय र कदम अपरिपक्व भयो, एमालेभित्रै फुट ल्याउने, माओवादीमा पनि असन्तुष्टी बढाएर भूमिका खेल्न देउवा चुकेका छन्’ श्रेष्ठ भन्छन्, ‘यो सरकारलाई न मधेसीले रुचाएका छन्, न आफ्नै पार्टीमा सबैले राम्रो भनेका छन्, त्यसैले अलिकति समय लाग्ला अब दलहरुको ध्यान सरकार फेर्नेतिरै हुन्छ ।’
सरकार फेर्ने प्रयासलाई वैशाख २१, २२ र २३ गते जसोतसो रोक्न सफल भएका नेताहरु हुन् । माधव नेपाल र वामदेव गौतम । अब यी दुई नेताहरुको सार्वजनिक टिप्पणी पनि भएको भद्र सहमति कायम गराउनुपर्छ भन्ने छ । किनकी यी दुवै नेताहरु टिकटकाले ओली सरकारमा मन्त्री हुन पाएका छैनन् । नेता वामदेव गौतम त झन् ओलीसँग पछिल्लो समय असन्तुष्ट छन् । त्यसैले सरकार फेरिंदा आफूलाई राजनीतिक लाभ हुने बुझाइ यिनको छ । अवसर छोप्न सिपालु वामदेवले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भद्र सहमतिमा अडिन दबाब दिइरहेका छन् ।
अध्यक्षमा ओलीसँग हारेका माधव नेपाल पनि अर्को महाविधेशनलाई लक्षित गर्दै ओलीलाई प्रधानमन्त्री बनिरहन दिने पक्षमा छैनन् । शक्तिमा निरन्तर भइराखे ओलीले अर्को महाधिवेशनमा पनि आफ्नो पक्षलाई हावी गराउने बुझेका नेपाल जसरी पनि छिटोभन्दा छिटो ओली सरकार फाल्ने पक्षमा छन् । पोखरा पुगेर सोमबार नेता नेपालले सरकार टिक्ने वा नटिक्ने अन्य दलको हातमा भर पर्ने बताएर अब सरकारको समय धेरै नभएको बताइदिए । एमालेको बहुमत नभएको भन्दै उनले अब सहमतीय सरकारको विकल्प नभएको पनि बताएर सरकार फेर्ने दिन टाढा नभएको बताइदिए ।
ओली निकटकै नेता शंकर भण्डारीले पनि सहमतीय सरकार बन्ने अवस्था आए तत्काल सरकार परिवर्तन हुने सक्ने सार्वजनिक टिप्पणी गरिसकेका छन् ।
यस्तो थियो बजेटपछि ओली सरकार विस्थापित गर्ने भनिएको तीन बुँदे सहमति
१. वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट सदनसमक्ष प्रस्तुत एवं पारित गरेपछि तत्काल वर्तमान प्रधानमन्त्री क. केपी शर्मा ओलीले राजीनामा गर्ने ।
नेकपा एमालेको प्रस्ताव एवं सहभागितामा एनेकपा (माओवादी)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्ने । त्यस सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने ।
२. संविधान अन्तर्गत हुने आगामी संघीय, प्रादेशिक तथा स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) र एनेकपा (माओवादी)का बीचमा कार्यगत एकता गरी संयुक्त रुपमा अघि बढ्ने
३. दुई पार्टीबीचको सहकार्य एवं एकतालाई सघन एवं सुदृढ बनाउँदै समृद्धि, सामाजिक, आर्थिक रुपान्तरण र समाजवाद निर्माणको दिशामा अघि बढ्ने ।nepaliheadlines