माओवादी केन्द्रका नेताको मदिरा पाटीमा को–को सहभागी ? (नामसहित)
काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता नारायाकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीदेखि गायिका कोमल ओलीसम्मलाई बोलाएर सोमबार राति भव्य पाटी दिएका छन् । ललितपुरको ऋद्धिसिद्धिमा माओवादी नेता श्रेष्ठले ठूलै पाटी दिएका हुन् । उनको पाटीको सबै चाँजोपाँजो उनकी सहयोगी सुशन कर्माचार्यले मिलाएको बताइएको छ । श्रेष्ठको पाटीमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षित, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, गायिका कोमल ओलीदेखि भारतीय राजदूत रणजित रायसम्मका उच्च व्यक्तिहरूको सहभागिता रहेको थियो । उपप्रधानमन्त्री विजय गच्छदार, टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसम्मका नेताहरूलाई पनि पाटीमा बोलाइएको थियो । मध्यरातसम्म चलेको पाटीमा इच्छाअनुसारका खानेपरिकार सजाएर राखिएको थियो । श्रेष्ठले बोलाएका पाहुनाहरूले ती परिकारहरू छानिछानी खाएको स्रोतले जनाएको छ । पाटीमा मदिरादेखि कुखुरा र खसीको मासुका परिकार पनि राखिएको एक सहभागीले बताए । माओवादी नेता श्रेष्ठले पाटी सोमबार बेलुका ६ बजेदेखि सुरू गरेका थिए । पाटीमा रामबहादुर थापा बादलको भने उपस्थिति नदेखिएको स्रोतको भनाइ छ । पाटीका विषयमा कुरा बाहिर ‘लिक’ हुनेभन्दै नेता श्रेष्ठले आफ्ना विश्वासपात्रहरूलाई मात्रै इन्ट्री दिएको स्रोतको भनाइ छ । आफू सर्वहारा कम्युनिष्ट नेता देखाउन सार्वजनिक सवारी साधनमा यात्रा गर्ने नेता श्रेष्ठले निजी पाटीमा गरेको खर्चको स्रोतका विषयमा सहभागीहरूले कानेखुसी गरेर जिज्ञासा राखेका थिए । उनको यो कार्यको माओवादी केन्द्रका नेताहरूले मन पराएका छैनन् । dainiknepal