Friday, June 3, 2016

मधेसी र दलितले पाउने आरक्षण सधैँका लागि होइन्ः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान ऐन/कानुन कार्यान्वयनसँगै जनचेतनामार्फत मुलुकमा व्याप्त सबै प्रकारका विभेद् अन्त्य गरिने बताउनुभएको छ ।
जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले अझै पनि समाजमा व्याप्त दाइजो नल्याएको निहुँमा वा बोक्सीको आरोप वा छुवाछूतको नाममा मान्छेलाई अपमान गर्नेजस्ता कुप्रथाको अन्त्य गरिनुपर्ने बताउनुभयो ।ko
आदिवासी जनजाति, दलित, महिला, मधेसी वा अन्य उत्पीडित समुदायलाई दिइँदै आएको आरक्षण सधैँका लागि नभई प्रतिस्पर्धाका लागि योग्न हुन केही समयका लागि मात्र भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले मुलुक निर्माणका क्रममा विभिन्न चरणमा भएका सङ्घर्षका कारण उत्पीडित समुदायको संविधानसभालगायत राज्यका अन्य संरचनामा समान सहभागिता हुँदै आएकोसमेत बताउनुभयो ।
‘सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएको दलित समुदायलाई सबैभन्दा पहिला शैक्षिक क्षेत्रमा अगाडि ल्याउनुपर्छ’–उहाँले भन्नुभयो ।
उहाँले दलित समुदायले गर्दै आएको कपडा सिलाउने र फलामका कामलगायत अन्य कामलाई समेत आधुनिकीकरण गर्दै लैजानेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) स्थायी समिति सदस्य छविलाल विश्वकर्माले संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।
मुक्ति समाजका अध्यक्ष तथा सांसद् जीतु गौतमले जातीय उन्मूलन दिवस घोषणा मात्रभन्दा पनि व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog