प्रधानसेनापति क्षत्री र चिनियाँ सेना उपप्रमुखबीच जंगी अड्डामा भेटवार्ता
काठमाडौं, २७ जेठ । नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग जंगी अड्डामा भेटवार्ता गर्नु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका जंगी अड्डाका अनुसार उक्त भेटवार्ताको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र एडमिरल सुनबीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो । सोही अवसरमा उहांले बलाधिकृत रथी श्री वलदेव राज महतसंग समेत भेटवार्ता गर्नु भएको थियो ।
यसअघि, एडमिरल सुनलाई जंगी अड्डामा कार्यरथी उपरथी सुन्दर पुडासैनीले स्वागत गर्नु भएको थियो भने उहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गरेको थियो ।
जेठ २४ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएका एडमिरल सुन छियाङ्गुओ चारदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता हुनु भएको छ ।
यस किसिमको छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको नेपाल भ्रमण र सैनिक नेतृत्ववर्ग संगको भेटवार्ताले दुई देश बीचको आपसी सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ
dainiknepal