विप्लव माओवादीको बन्दमा ‘नेपाल खुल्ला छ’ अभियान
काठमाडौं, २७ जेठ । नेकपा माओवादी (विप्लव) को नेपालमा बन्दमा विवेकशील नेपाली दलले ‘नेपाल खुल्ला छ’ अभियान सञ्चालन गरेको छ ।
विवेकशील नेपाली दलले नागरिकको स्वतस्फूर्त र शान्तिपूर्णरुपमा हिंडडुल गर्न पाउने आधारभूत अधिकारको रक्षार्थ ‘नेपाल खुल्ला छ’ भन्ने सन्देशसहित बिहीबार विहान १० बजेबाट महाराजगन्ज, चक्रपथदेखि रिक्सा र्याली गर्दै माईतीघर मण्डलामा सडक सन्देश गरेको हो ।
जायज वा नाजायज, कुनैपनि प्रकारका मागहरु राखी गरिएको बन्दले कुनै पनि समस्याको समाधान दिदैन भन्ने विवेकशील नेपाली दलको धारणा छ ।
विवेकशील नेपाली सम्बन्धित सम्पूर्ण पक्षहरुमा आफ्ना फरक मत र विरोधलाई २१ औं शताब्दी सापेक्ष हुनेगरी रचनात्मक ढंगले अघि सार्न तथा जबरजस्ती बन्द गरी आम–नागरिकलाई सास्ती पुर्याउने गतिविधिहरुलाई सदाको लागि त्याग्न सम्बन्धित सबैलाई आह्वान समेत गरेको छ ।
विवेकशील नेपालीका सदस्यहरुले यात्रु तथा सवारी चालकहरुलाई ‘लिफ्ट’ दिन र लिन प्रोत्साहन गर्दै आवतजावतमा सघाएका थिए । विवेकशील नेपालीका सदस्यहरु तथा अन्य महानुभावहरुको सहभागितामा रहेको ‘नेपाल खुल्ला छ’ कार्यक्रम माइतीघर मण्डलामा सडक सन्देश पश्चात अनामनगर, बानेश्वर, गौशाला, चाबहिल हुँदै चप्पलकारखाना स्थित विवेकशील नेपाली केन्द्रिय कार्यालयमा फर्की समापन भएको थियो ।
dainiknepal