संघीय गठबन्धनको बैठक बस्दै, आन्दोलनको समीक्षा हुने
काठमाडौं, १४ जेठ । आन्दोलनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका साना दल आबद्ध संघीय गठबन्धनको बैठक बस्दैछ ।
अहिले केही समयपछि काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा सुरु हुने बैठकमा आन्दोलनको समीक्षा हुनेछ ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बैठकमा आन्दोलनको समीक्षाका साथै भावी आन्दोलनको तयारीका विषयमा परामर्श हुनेछ ।
राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले सरकारले माग पूरा नगर्दासम्म संघर्ष गरिरहने जनाएको छ । गठबन्धनको आन्दोलन १७ गते सकिदैछ ।
जेठ १८ गतेदेखि कस्ता खालका आन्दोलन गर्ने भनेर पनि बैठकमा समीक्षा हुने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । ‘आन्दोलनको समीक्षा र भावी आन्दोलनका विषयमा बैठकमा छलफल हुन्छ’, उहाँले भन्नुभयो ।
dainiknepal