Thursday, May 26, 2016

आन्दोलनलाई कमजोर ठान्ने भूल नगर्न सरकारलाई गठबन्धनको कडा चेतावनी

काठमाडौं, १३ जेठ । राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले आज बिहिबार रिङ्गरोड ठप्प पारी काठमाडौंको मुख्य प्रवेशद्वार कलंकीमा विशाल आमसभा गरेको छ ।
गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा दिउँसो दुई बजे सोल्टी मोडमा जम्मा भएर आफ्नो माग सम्बोधनका लागि सरकार विरुद्व नाराबाजी गर्दै र्याली कलंकी चोक पुगेको थियो । गठबन्धनले राजधानीमा थालेको आन्दोलन आज १३ दिन पुगेको छ । काठमाडौंको अन्य स्थान झैं कलंकीमा पनि गठबन्धनको कार्यक्रममा स्थानीयको व्यापक सहभागिता देखियो । चार बजेदेखि कार्यक्रम सुरुभएसँगै कलंकी आसपास क्षेत्र ठप्प भएको थियो ।sarkar
२६ सुत्रिय माग अघि सार्दै जेठ १ गतेदेखि राजधानीमा आन्दोलनरत गठबन्धनले कलंकीको विरोध सभाबाट कडा चेतावनी दिएको छ । विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता शरत्सिंह भण्डारीले जारी आन्दोलनलाई कमजोर ठान्ने भूल नगर्न सरकारलाई चेतावनी दिए । ‘राज्य र अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिन हामीले सांकेतिक रुपमा सिंहदरबार र वालुवाटार घेराऊ गर्यौं’– भण्डारीले भने, ‘मुलुकका सबै उत्पीडित समुदाय मिश्रित यो आन्दोलनलाई बेवास्ता गरे परिणाम ठीक हुन्न ।’
आन्दोलनरत उत्पीडित जनताको जायज माग सम्बोधन गर्न सरकार अटेरी गरे ओलीको अहङ्कार चूर गर्ने समेत उनले चेतावनी दिए । ‘सरकार थोरै पनि जिम्मेवार र इमान्दार छ भने अबिलम्ब वार्ताको माहोल बनाएर गठबन्धनलाई वार्ताको लागि पत्राचार गरोस्, हामी पनि वार्ता मार्फत् नै समाधान चाहेका हौं’– भण्डारीले भने ।
कार्यक्रमलाई संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
गठबन्धनले भोलि शुक्रबार भक्तपुरको मध्यपुर ठिमीस्थित शंखधर साख्वामा चोकमा विरोध सभा गर्दैछ । यसअघि सिंहदरबार र वालुवाटार घेराऊ पछि गठबन्धनले राजधानीको प्रभावकारी ८ स्थानमा विशाल विरोध प्रदर्शन गरिसकेको छ ।
तराईबाट उक्लिएका मधेशी, थारु तथा पहाड र हिमालबाट केन्द्रीत भएका जनजाति, मगर, शेर्पा लगायतको फरक, भाषा, संस्कृति र पहिरनको ऐतिहासिक संगम देखेर राजधानीबासी समेत चकित देखिन्छन् ।
सबै जातजाति, वर्ग, समुदाय सम्मिलित विविधता युक्त गणतन्त्र नेपालको प्रष्ट तस्वीर बोकेको गठबन्धनले संघीयता, पहिचान र संविधान पुनर्लेखनको सवालमा कलंकी तताउन सफल भयो ।
सिंहदरबार र वालुवाटार घेराऊ सफल पारेर राजधानी तताइरहेको गठबन्धनमा मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका आबद्ध छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog