कांग्रेस र एमाले–माओवादीबीच फेरि कुरा मिलेन्, देउवाले अडान राखेपछि…
काठमाडौं, १४ जेठ । संसदीय सुनुवाई समिति गठनका विषयमा सहमति जुटाउने सभामुख ओनसरी घर्तीमगरको प्रयास फेरि असफल भएको छ ।
समिति गठनमा सत्तारुढ एमाले र नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कुरा नमिलेपछि सहमति जुट्न नसकेको हो ।
सभामुख घर्तीकै पहलमा शुक्रबार विहान प्रमुख तीनका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय सुनुवाई समिति ७५ सदस्यीय बनाउनुपर्ने अडान राखेका थिए ।
तर, नयाँ संविधानले समिति १५ सदस्यीय मात्रै बनाउन मिल्ने व्यवस्था गरेको छ । एमाले र नेकपा माओवादी केन्द्रले संवैधानिक व्यवस्थाअनुसार १५ सदस्यीय समितिको बनाउन लविङ गरिरहेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ सदस्यीय समिति बनाउनुपर्ने बताएका थिए ।
दुबै पक्षबीच सहमति नजुटेपछि सभामुख घर्तीले बजेटपछि अर्काे बैठकमा सहमति खोज्नेगरी आजको बैठक अन्त्य गरिन् । यसअघि पनि सभामुखले तीनै प्रमुख नेतासँग सहमति खोज्ने प्रयास गरेकी थिइन् ।
संसदीय समिति गठन नहुँदा सिफरिस गरिएका राजदूतहरु र न्यायाधिशहरु तथा प्रधानन्यायाधिशको पनि सुनुवाई हुन सकेको छैन् ।
dainiknepal